बुढानीलकण्ठ, आषाढ १८ गते । 

बुढानीलकण्ठ नगरपालिकाका विपन्न परिवारहरुका निमित्त ‘विपन्नसँग उपमेयर’ कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गरिएको छ। 

नगरपालिकाका विभिन्न वडाहरुमा पछिल्लो पटक गरिएको निरिक्षणका आधारमा नगरपालिकाका विभिन्न वडामा रहेका विपन्न तथा अपाङ्गता भएका व्यक्तिका परिवारका लागि अत्यावश्यक सामाग्रीहरु र साथमा सीपका साधनहरु वितरण गरिएको छ। 

बु.न.पा. वडा नं ७ का दुई परिवारहरुका लागि दैनिक रुपमा आवश्यक रहने खाद्यान्नहरु समेत अव्यवस्थित तथा जिर्ण अवस्थामा रहेको घर/टहराहरुको मर्मत सम्भार गरि सहज रुपमा बसोबास गर्नका लागि समेत सामाग्रीहरु यसै कार्यक्रम मार्फत प्रदान गरिएका छन्। 

मौसम परिवर्तन भएसँगै वर्षाका कारण हुनसक्ने विपद्हरुबाट सुरक्षित रुपमा बसोबास गर्न आवश्यक विविध सामाग्रीहरु समेत यसै कार्यक्रम अन्तर्गत व्यवस्थापन गरि उक्त परिवारहरुलाई वितरण गरिएका छन् । नगरपालिकाको जनसंख्या तथा समावेशिकरण महाशाखा तथा वडा सदस्य राममाया महर्जनसँगको सहकार्यमा नगरपालिकाका उपप्रमुख अनिता लामाले उक्त सामाग्रीहरु वितरण गर्नुभएको हो ।