सर्वदलीय बैठकपछि बाटो खुल्यो

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 21

राष्ट्रिय सभा निर्वाचनको मिति, प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठकपछि बाटो खुलेको एकजना मन्त्रीले बताएका छन्।

मन्त्रिपरिषद्को आउँदो बैठक सम्भवत: सोमबार बस्ने र त्यसैले ती विषयहरुमा निर्णय लिनसक्ने सम्भावना बलियो रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले सहमतिको निम्ति संसद्‌मा राष्ट्रिय दलको रुपमा देखिएका पाँच दलको बैठक बिहीबार राखेका थिए।

चासोपूर्वक हेरिएका ती तीनवटा विषयमा निर्णय गर्न बिहीबार नै बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भने भएन।

आग्रह
तर वाणिज्यमन्त्री मीन विश्वकर्माको भनाइमा सर्वदलीय बैठकपछि त्यसबारे निर्णय गर्न अब सरकारलाई कुनै अप्ठ्यारो छैन।

उनले भने, "राष्ट्रिय सभाको निर्वाचन मिति घोषणा गर्न, प्रदेश प्रमुखको नियुक्त गर्न र प्रदेशको अस्थायी राजधानी तोक्न मन्त्रिपरिषद्को बैठक आउँदो सोमवार बस्न सक्छ।"

निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आउँदो माघ २५ गते गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
तर नयाँ सरकार गठनको बाटो खोल्ने भनिएको उक्त चुनाव छिट्टै गर्न नेकपा एमालेले बैठकमा आग्रह गरेको थियो।

भागवण्डा
बैठक सकेर चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, "छोटो समयभित्र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने एउटा समझदारी बन्यो। प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने विषय संविधानको भावना र मर्मअनुसार सरकारले तोकोस् भनेर सबैले सरकारलाई जिम्मा दिएका छौं।"

प्रदेशको राजधानी तोक्ने विषयमा प्रमुख दलभित्रै मतभेद पाइन्छ।

त्यसैले वामपन्थी गठबन्धनले त्यसबारे खासै टिप्पणी गरेको पाइँदैन।

तर प्रदेश प्रमुखको नियुक्ति सहमतिमा गर्नुपर्नेमा उसले जोड दिँदै आएको छ। त्यसैले त्यसमा प्रमुख दलहरुबीच भागवण्डा हुने ठानिएको छ।