भोट हाल्ने तरिकाबारे उपत्यकावासीकै कतिपय मतदातामा अन्योल

[[IMG_ALT]]

BSGNEWS | National News | Mangshir 18

प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन आउन तीन बाँकी छ। तर काठमाण्डू उपत्यका कै कतिपय मतदाताहरुमा मतदान हाल्ने तरिकाबारे अन्योल रहेको देखिएको छ। शहरी क्षेत्रका मतदाताहरु शिक्षित वर्गका मात्र हुने भन्ने बुझाइ, कतिपय मतदाताको हेलचेक्र्याइँ र मतदाता शिक्षाको समय निकै कम हुनुलाई मतदान बारेको अन्योलको कारण रहेको बताइएको छ। काठमाण्डू हाँडीगाँउकी कुमारी रिजाललाई तीन दिनपछि हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कसरी भोट हाल्ने विषयमा जानकारी छैन।
अन्योल
उनी भन्छिन्, "तीनवटा कागज दिन्छ रे। त्यसमा तीनवटै छाप लगाउनुपर्छ भन्छन्। त्यो भनेको कुन ठाँउमा कहाँ हाल्ने, मलाई केही थाहा छैन। कोही सिकाउन आएको पनि छैन।" दोस्रो चरणको निर्वाचनमा काठमाण्डूका तीन जिल्लाका १० लाखभन्दा बढीको नाम मतदाता सूचीमा रहेको छ। निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा ३ दशमलव ४४ प्रतिशत मत बदर हुँदा शहरी क्षेत्रबाट खसेका थुप्रै मत बदर भएका थिए। शिक्षित वर्गका मतदाताहरुको बाहुल्य रहेको ठानिने शहरी क्षेत्रमा नै बदर मत धेरै खस्नुलाई कतिपयले आश्चर्य मान्ने गर्छन्। उपत्यकामा ७४१ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको जनाएको निर्वाचन आयोगले भने छोटो समयमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसकेको स्विकारेको छ।
कठिनाइ
तर शहरमा बेग्लै कठिनाइ भएको प्रवक्ता नवराज ढकाल बताउँछन्, "कतिपय स्थानका कति घरमा हाम्रा मतदाता शिक्षकहरुले प्रवेश पाएका छैनन्। अर्कोथरी कामकाजी परिवारहरु छन्, जो बिहान ९ बजे अगाडि नै काममा निस्कन्छन् र साँझ मात्र फर्किन्छन्। त्यहाँ पनि पुग्न सकिएको छैन। त्यसले गर्दा मतदाता शिक्षामा केही कठिनाइहरु छन्।" शहरी मानिसहरुमा चुनावबारे हेलचेक्र्याइँ बढी हुनुले पनि मत बदर हुने गरेको निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेती बताउँछन्।
त्यसबाहेक शहर छेउछाउका स्थानहरुमा अझै समस्या रहेको उनले भने, "शहर भन्नाले त्यहाँ पनि धेरै पुराना बुढाबुढी छन् जसले राम्ररी बुझ्न सक्दैनन्। त्यसको संख्या पनि थोरै छैन। शहरकाहरु त बुझ्छन्, टेलिभिजन रेडियोमा बजाइदियो भने त बुझिहाल्छन् नी भनेर आयोगले त्यसलाई बढी प्रचारप्रसारमा प्रयोग गरेका छन्। त्यसले पनि समाधान नदिएको हो।" पूर्व आयुक्त उप्रेती मतदाता शिक्षकहरु प्रत्येक घरमूलीसम्म पुग्नुपर्ने सुझाव दिन्छन्। आयोगले भने 'तीन मतपत्रमा चार छाप' लगाउनुपर्ने शिक्षालाई मतदाता परिचय पत्र वितरण गरिँदा सिकाउने तयारी गरेको जनाएको छ।

[[IMAGE_ALT]]