प्रदेश प्रमुख र राजधानी सहमतिमा

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 25

सरकार राजनीतिक सहमतिको आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने पक्षमा रहेको सरकारका प्रवक्ताले जनाएका छन्।

राजधानीको माग गर्दै विभिन्न ठाउँमा आन्दोलन शुरु भएकाले सोमवार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने धारणा कतिपय मन्त्रीले व्यक्त गरेका थिए।

प्रधानमन्त्रीसँग सोमवार भेट गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्षले पनि सरकार सहमतिमा दुबै विषयको टुंगो लगाउने मनस्थितिमा देखिएको बताए।

प्रदेश प्रमुख नियुक्त गर्न सोमवार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भएन।

छलफल
सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार प्रदेश प्रमुख र अस्थायी राजधानीको चयन राजनीतिक सहमतिमा गर्ने सरकारको प्रयासका कारण बैठक नभएको हो।

उनी भन्छन्, "प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न विभिन्न राजनीतिक दलका नेताहरुसँग अझै एकचोटी छलफल गर्न समय लिइएको हो।"

हालैको सर्वदलीय बैठकमा ती विषयमा वामपन्थी गठबन्धनले सरकारलाई कुनै सुझाव नदिएको भन्दै राजधानी तोक्ने काममा हात नहाल्ने कतिपय मन्त्रीको धारणा आएको थियो।

तर मन्त्री बस्नेतले भने, "काठमाण्डूमै प्रदेशको बैठक गराउने विषय संघीयताको भावनाको अलि विपरीत पनि हो। त्यसैले सहमति जुटाएर अस्थायी केन्द्र तोक्ने नै सरकार र प्रधानमन्त्रीको धारणा छ।"

आ-आफ्नै बुझाइ
प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको भेटलाई पनि सहमतिकै प्रयासको रुपमा लिइएको छ।

तर यादवले तराईको शीतलहरले निम्त्याएको समस्या भेटको विषय भएको बताए।

त्यसक्रममा राजनीतिक विषयमा पनि छलफल भएको जानकारी दिँदै उनले भने, "अहिले अस्थायी राजधानी मात्र तोक्ने प्रधानमन्त्रीको मनस्थिति पाएँ। प्रदेश प्रमुख २-४ दिनपछि नियुक्त गर्ने कुरा भएको थियो, सहमतिमै हुन्छ होला।"

विवादित बन्ने देखिएकाले अस्थायी राजधानीबारे र पछि आफ्नो सरकारले हटाउने बाटो खुला राख्न प्रदेश प्रमुखबारे वामपन्थी गठबन्धन मौन बस्न खोजेको सरकारको बुझाइ पाइन्छ।

तर आफ्ना निकटलाई नियुक्त गर्न प्रदेश प्रमुखमा मात्र सरकारले चासो देखाएको भन्दै वामपन्थी गठबन्धनले अस्थायी राजधानी तोक्न दबाब दिएको छ।