शुल्कबृद्धि बिरुद्ध अभिभावकहरु आन्दोलनमा

[[IMG_ALT]]

b s g news | National News | Chaitra 28

बृहस्पति विद्या सदनले यो शैक्षिक सत्रदेखि अत्यधिक रुपमा शुल्क बृद्धि गरेपछि अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।शुक्रबार र आइतबार पनि अभिभावकहरुले मनपरी शुल्क बृद्धि गरेकोमा विरोध प्रदर्शन गरेका छन् । बाल संगठनको नाममा रहेको नक्सालको २८ रोपनी जग्गा लिजमा लिएर विद्यालय संचालन गरेको बृहस्पतिले यो बर्ष ३५ प्रतिशत शुल्क बृद्धि गरेको छ । बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशी र मुरारिनिधि तिवारीले बिशाल गु्रपलाई बिक्री गरेपछि विद्यार्थीको शुल्क एकैपटक ३५ प्रतिशतले बृद्धि गरेको छ । यस्तो मनपरी शुल्कबृद्धि बिरुद्ध अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।बिशाल ग्रुपले स्कुल हेर्नेगरी भारतीय नागरिक सिद्धार्थ केडिया र अभिनव सिंहानियालाई पठाएको छ । नक्सालमा रहेको बृहस्पति विद्यासदन खरिद गरिसकेपछि बिशाल गु्रपले विद्यार्थीको शुल्क ह्वात्तै बढाएको छ । शिक्षा ऐन र नियमावली विपरीत शुल्क बढाएपछि अभिभावकहरुले धमाधम आफ्ना बालबच्चाहरु निकालेर अन्यत्रै भर्ना गर्न थालेका छन् । अभिभावकहरुले ३५ प्रतिशत शुल्क बढाएर एक विद्यार्थी बराबर करिब १५ हजार मासिक शुल्क तिर्नुपर्ने भएको छ । त्यो शुल्क पनि २ महिनाको एकैपटक बुझाउनुपर्ने अनिवार्य ब्यवस्था गरिएको छ ।

विद्यार्थीको पोशाक पनि सिद्धार्थ केडियाले भारतमै तयार गरी ल्याउने हो भन्दै प्रतिविद्यार्थी ७ हजारका दरले रकम तोकेका छन् । स्कुलले १ छाक खानाबापत मासिक ७ हजार रुपैयाँ असुली गर्दैआएको छ । जबकि उक्त खानाको लागत जम्मा एक विद्यार्थी बराबर ३० रुपैयाँमात्र पर्दछ । १३ सय विद्यार्थी रहेको उक्त स्कुलले सफ्टवेयर पनि दिल्लीबाटै चल्नेगरी राखेको छ । स्कुल परिसरमा कर्मचारीलाई सिद्धार्थ केडिया र अभिनव सिंहानियाले हिन्दीमा गालीगलौज गर्न थालेपछि कर्मचारीहरु पनि छाड्न थालेका छन् ।