प्रहरी दिवस रनिङ्ग कप भलिबल प्रतियोगिता सम्पन्न

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Ashwin 27

काठमाडौं, २६ असोज
६२ औं प्रहरी दिवस २०७४ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर टिमलाई रनिङ्ग कप प्रदान गर्नुका साथै बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, अफिसियल , टिम व्यवस्थापक , प्रशिक्षकहरुलाई मेडल तथा प्रमाणपत्र एवं नगद पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले विजयी समूहलाई बधाई ज्ञापन गर्दै मेहनत एवं लगनशिल खेल जीवनका लागि महत्वपूर्ण रहेको बताउनुहुँदै मिलनसारिता , सहयोगी भावना र अनुशासन खेलका अभिन्न अंग रहेको र यी गुणले व्यावसायिक जीवनमा समेत सफलता हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकूद प्रतियोगितामा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरुको सहभागिता र योगदानका कारण खेलकूद नेपाल प्रहरी र नागरिकबीचको सम्वन्ध सुदृढ बनाउन सशक्त माध्यमको रुपमा स्थापित भएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका सदस्य–सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले प्रतियोगितामा द्धितिय हुने ३ नम्वर प्रदेश कार्यालय हेटौडा टिमका खेलाडी तथा अफिसियलहरुलाई पदक,प्रमाणमत्र,शिल्ड, टिमलाई मुमेन्टो एवं नगद पुरस्कार वितरण गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले भलिबल खेलले सामूहिक भावना प्रदर्शन गरेको चर्चा गर्दै नेपाल प्रहरीका खेलाडीहरुले राष्ट्रियस्तरको खेलमा समेत महत्वपूर्ण प्रदर्शन गर्दै आएको बताउनुभयो ।
प्रहरी नायव महानिरीक्षक छविलाल जोशीले खेलकूद सम्वन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नेपाल भलिबल संघका महा–सचिव जितेन्द्र बहादुर चन्दले नेपाल भलिबल संघको तर्फबाट नेपाल प्रहरी खेलकूद समितिलाई भलिबल हस्तान्तरण गरी प्रतियोगिता संचालन गर्ने रेफ्रीहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
असोज २२ गतेबाट संचालित उक्त प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका टिम गरी जम्मा १० टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा लिग चरणका १२ खेल, सेमिफाईनलमा २ खेल र फाईनल १ खेल गरी जम्मा १५ खेल भएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति रहेको थियो ।