निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 27

सरकारले माघ २४ गते बुधवार राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको पाँच दिनपछि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार माघ १० गते मनोनयन दर्ता र माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सीमा तोकिएको छ।

समयको चापका कारण कानूनले अनिवार्य गरेको समयसीमा नघटाएर आयोगले आफ्नो व्यवस्थापकीय कामको समयावधि कसिलो पारेको जनाएको छ।

आगामी शुक्रवारसम्म दल दर्ताको समय पाएकोमा हालसम्म १० वटा दलहरले राष्ट्रिय सभाको निर्वाचनमा सहभागिता जनाउन दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ।

उजुरी
निर्वाचन आयोगले माघ १० गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने समयसीमा तोकेको छ।

स्थानीय तहका प्रमुख र उपप्रमुख एवम् प्रदेशसभाका सदस्य गरीजम्मा २०५६ जना मतदाता रहनेछन्।

माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन नै दाबीविरोधको उजुरी दिन सकिने आयोगको भनाइ छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ''उम्मेदवारको विरोधमा उजुरी, त्यसको छानबिन, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने काम माघको १५ गतेसम्म गरिसक्छौं। राजनीतिक दलहरूलाई प्रचारप्रसारको समय अलि न्यून भएको छ। एकहप्ता मात्रै समय उपलब्ध भएको छ।''

आयोगको कार्यतालिका अनुसार माघ १४ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, १५ गतेसम्ममा उम्मेदवारले नाम फिर्ता लिने र सोहीदिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ।

प्रशिक्षण
उम्मेदवारलाई चिह्न प्रदान गरेपछि आयोगले मतपत्र छपाइको कार्य शुरु गर्ने बताएको छ।

प्रवक्ता
एकल संक्रमणीय प्रणाली अनुसार निर्वाचन हुने भएकोले त्यसबीचमा मतदाता, निर्वाचन अधिकृत र गणकलाई प्रशिक्षण दिइने प्रवक्ता ढकालले बताए।

उनले भने, ''निर्वाचन आयोगले प्रत्येक मतदातालाई मत हाल्ने तरिका सिकाउने छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा हामीले स्थानीय तहका प्रमुख र उपप्रमुख र उक्त जिल्लाका प्रतिनिधिसभाका निर्वाचित सदस्यहरूलाई आमन्त्रण गरी मतसंकेत गर्ने तरिका सिकाउने, प्राथमिकताक्रम र मतपत्रको ढाँचा देखाउने र मतगणना विधिको जानकारी पनि दिनेछौं।''

माघ २४ गतेको राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले बुधवार नै न्यायपरिषद्को स्वीकृतिमा सातजना जिल्ला न्यायाधीशलाई बिहीवार देखि लागु हुनेगरीनिर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ।

निर्वाचन अधिकृतका कार्यालयहरूले प्रदेशको उच्चअदालत रहेका स्थानमा आगामी शनिवारदेखि स्थापना गरिने भएको छ। निर्वाचनको परिणाम दुईदेखि तीन दिनभित्रै सार्वजनिक गर्ने आयोगको योजना छ।