पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 15

पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा छन्।

२०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता गैरदलीय सरकार प्रमुख बाहेक प्रधानमन्त्री भएका जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन्।

चुनाव लडेका सबै पार्टी वा सरकारको नेतृत्व गरिसकेर पनि थाकेका देखिँदैनन्, कुनै न कुनै रुपमा फेरि प्रधानमन्त्री बन्ने वा उपल्लो ओहदामा उक्लिने आकांक्षा उनीहरुमा पाइन्छ।

प्रधानमन्त्री भएका जीवित नेताहरुमये शेरबहादुर देउवा सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका छन्।
हालिमुहाली

तर हालसालै उनले फेरि प्रधानमन्त्री बन्ने मोह नलुकाएरै भने, "ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्छन् भनेका छन्। फेरि प्रधानमन्त्री बन्ने त मै हुँ नि।"

चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन देउवाले नेपालीको औषत आयु ७० वर्ष काटिसके।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेका उनी ५० नपुग्दै पहिलो पटक प्रधानमन्त्री भएका थिए।

राजनीतिक लडाइँको नाममा दशकौं बिताइए पनि स्थायित्व दिन विफल देखिएका नेताकै हालिमुहाली कैयौंलाई स्वाभाविक लाग्दैन।

प्रथम राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार रहिसकेका राजनीतिशास्त्री हरि शर्मा भन्छन्, "देश चलाउने यत्रो ठूलो यज्ञमा सामेल हुँदा एक पटक प्रधानमन्त्री बनेपछि थाक्नु पर्ने हो। तर किन थाक्दैनन् भने उनीहरुले काम गरेकै हुँदैनन्। कुन चाहिं प्रधानमन्त्री सफल भएका छन्? काम गर्न नसकेपछि फेरि आफै हुनु पर्छ किन भन्ने?"

बीपी कोइराला जेलमा कथा-कविता लेख्नुहुन्थ्यो। पुष्पलाल आफ्नो दस्तावेज आफैँ लेख्नु हुन्थ्यो। बीपीले जेलमा आफ्नो भाँडा आफैँ माझेको पढेका छौं। अहिलेको नेतृत्वको ताल हेर्नुस् त, ढोका नखोलिदिए गाडीबाट झर्दैनन्। त्यो भनेको ढोका खोल्ने मान्छेको व्यवस्था नहुँदासम्म तिनले अवकास नै लिँदैनन्
हरि शर्मा, राजनीतिशास्त्री

विश्राम

'बाह्रौं खेलाडी' पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्द ४४ वर्षको छँदा पहिलो पटक प्रधानमन्त्री भएका थिए।

कुनै बेला बाह्रौं राजनीतिक खेलाडीको संज्ञा पाएका उनी ७८ वर्ष पुग्दा राजनीतिक मैदान छाडेका छन्।

उनले हालसालै बीबीसीसँग भनेका थिए, "अब राजनीतिको तनाव कति बोक्ने? पन्छिने उमेर पनि भयो। अब किताब पढ्न-लेख्न सकिन्छ।"

चन्दको उमेरमा नपुगे पनि एमालेका नेतात्रय केपी ओली, माधव नेपाल र झलनाथ खनालले उनी जस्तै सरकार र पार्टीको नेतृत्व गरिसकेका छन्।

कांग्रेसका अहिलेका एकजना चर्चित नेता गगन थापाको हाराहारी उमेरमा नेपाल उपप्रधान, रक्षा र परराष्ट्रमन्त्री, ओली गृहमन्त्री र खनाल कृषि एवं वनमन्त्री भइसकेका थिए।

उनीहरु अझै मूलधारको राजनीतिको केन्द्रमै छन्।

'ह्रासोन्मुख गुण'

पञ्चायतकालका एकजना चर्चित अनेरास्वियु नेता टंक कार्की भन्छन्, "बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको पुस्तापछि नेतृत्वको गुण ह्रासोन्मुख छ। सत्तामै बसिरहनु पर्छ भन्ने के छ, पार्टी पो चलाउनु पर्छ। नेताले सुविधामा बढी ध्यान केन्द्रित गरे।"

भूमिगत राजनीतिबाट बाहिरिए लगत्तै प्रचण्ड र बाबुराम भट्टराईले महात्मा गान्धी र नेल्सन मण्डेला बन्ने बताएका थिए।
तस्वीर कपीराइट facebook/LBC
Image caption राजनीतिबाट विश्राम लिएका लोकेन्द्रबहादुर चन्द ४४ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए

धेरैलाई लाग्थ्यो, पार्टी सम्हालेर राजकीय जिम्मेवारीमा अरुलाई पठाइ उनीहरु पुराना दलभन्दा पृथक र कतिपयलाई आकर्षक लाग्ने भूमिकामा हुनेछन्, तर त्यसो भएन।

ठूलै हलचल र चर्चा निम्त्याउँदै पहिलो पटक ५३ वर्षको उमेरमा प्रधानमन्त्री बनेका प्रचण्डमा फेरि प्रधानमन्त्री बनेर 'ह्याट्रिक' गर्ने आकांक्षा देखिन्छ।

संविधान लेखनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइसकेका हुन्।

पदचाप

'भयानक बलिदानीको कठीन बाटो' हिंडेका उनीहरुले पनि बारम्बार शक्तिमा पुग्ने पुरानै दलका नेताको पदचाप किन पछ्याए?

माओवादीको मूलधारबाट हालसालै अलग्गिएका एकजना टिप्पणीकार नरेन्द्रजंग पिटर भन्छन्, "सिद्धान्तको राजनीतिको अन्त्य र सुविधाको राजनीति शुरु भएपछि सुरक्षाको राजनीति समातिन्छ। त्यसैले अन्त्यसम्म पनि शक्ति हातमा केन्द्रित होस् भन्ने मनोविज्ञान हुन्छ। कारण त्यही हो।"

सबैजसो दलका युवा नेताले तत्काल आफ्ना अग्रजलाई विस्थापित गर्ने सम्भावना देखा परेको छैन।

आउनु त पर्यो मैदानमा, जनताको बीचमा परीक्षण हुनु पर्यो। संकट पर्दा, गोली थाप्दा, लड्दा र घाइते हुँदा एउटा, परिवर्तनको अग्रपंक्तिमा उभिँदा बेपत्ता। अनि अर्को कसैलाई दिएर हुन्छ? युवा भनेर मात्रै हुँदैन। युवा फूर्ति चाहिन्छ। गतिशीलता, समर्पण, इमान्दारी र निष्ठा चाहिन्छ
माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री

त्यसको निम्ति संरचना र मूल्यको हिसावले राजनीतिक दलमा समस्या देख्ने पूर्वविद्यार्थी नेता टंक कार्कीका बिचारमा नयाँ पुस्ताले पुराना जतिको त्याग गर्न र गुणस्तर देखाउन नसक्नुलाई अर्को कारण ठान्छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वमा आउन आफूले कसैलाई नछेकेको बताउँछन्।
मैदान

तर उनी आफै मैदान खालि गरिदिने पक्षमा देखिएनन्।

उनी प्रश्न गर्छन्, "आउनु त पर्यो मैदानमा, जनताको बीचमा परीक्षण हुनु पर्यो। संकट पर्दा, गोली थाप्दा, लड्दा र घाइते हुँदा एउटा, परिवर्तनको अग्रपंक्तिमा उभिँदा बेपत्ता। अनि अर्को कसैलाई दिएर हुन्छ? युवा भनेर मात्रै हुँदैन। युवा फूर्ति चाहिन्छ। गतिशीलता, समर्पण, इमान्दारी र निष्ठा चाहिन्छ।"

नेता नेपालले राजनीतिबाट विश्राम लिने आफ्नो उमेर नभएको बताए।

तर कतिपय पूर्वप्रधानमन्त्री त मृत्यु शैयामा पुग्नुअघिसम्म राजनीतिमा सक्रिय नै रहेका उदाहरण छन्।

राजनीतिको चुचुरोमा पुगिसकेपछि नेताहरु उमेर छँदै किन किनारा लाग्न चाहँदैनन्?
'ढोका नखोल्ने'

संघर्षबाट आएको राजनीतिक नेतृत्व भए पनि त्यसबाहिरको काम गर्ने आत्मविश्वास नरहेको बताउने राजनीतिशास्त्री हरि शर्मा वर्तमान नेतृत्वबाट त्यो उदारता सम्भव देख्दैनन्।

सिद्धान्तको राजनीतिको अन्त्य र सुविधाको राजनीति शुरु भएपछि सुरक्षाको राजनीति समातिन्छ। त्यसैले अन्त्यसम्म पनि शक्ति हातमा केन्द्रीत होस् भन्ने मनोविज्ञान हुन्छ। कारण त्यही हो
नरेन्द्रजंग पिटर, टिप्पणीकार

उनले भने, "बीपी कोइराला जेलमा कथा-कविता लेख्नुहुन्थ्यो। पुष्पलाल आफ्नो दस्तावेज आफै लेख्नु हुन्थ्यो। बीपीले जेलमा आफ्नो भाँडा आफै माझेको पढेका छौं। अहिलेको नेतृत्वको ताल हेर्नुस् त, ढोका नखोलिदिए गाडीबाट झर्दैनन्। त्यो भनेको ढोका खोल्ने मान्छेको व्यवस्था नहुँदासम्म तिनले अवकास नै लिँदैनन्।"

डेढ दशकअघि राजा ज्ञानेन्द्रले 'शान्ति स्थापनाको निम्ति तीन वर्ष' भन्दै सत्ता हातमा लिएका थिए।

तर डेढ वर्षमै उनको हातबाट सत्ता खोसेका दल र तिनका नेताले राजनीतिक व्यवस्थापनमै झण्डै तीन दशक बिताइ सके।

तैपनि पनि कतिपयका नजरमा व्यवस्थित र स्थिर राजनीतिको आरम्भको साइत अझै टाढै देखिन्छ।
श्रोत बि.बि .सि नेपाली