एन्फा निर्बाचन रोक्न फेरी धाधली हुन् सक्छ : कर्मा छिरिंग शेर्पा

[[IMG_ALT]]

b.s.g news | Sports | Chaitra 16

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको निर्वाचन हुने वातावरण बन्दै गएको छ।

उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन ‍स्थगित भएको थियो। त्यसपछि निर्वाचन अन्योलमा परेको थियो।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो। दुवै जिल्लाले मताधिकारबाट बञ्चित भएको भन्दै रिट दायर गरेका थिए।

अब दुवै जिल्लाको निर्वाचनका लागि एन्फाले निर्देशन दिइसकेको छ। एन्फाले मकवानपुरको निर्वाचन चैत २३ र भक्तपुरको निर्वाचन चैत २७ गते गर्न निर्देशन दिएको हो। निर्वाचनपछि दुई जिल्लाले मताधिकार पाउने भएकाले उच्च अदालतमा परेको मुद्दाको सान्दर्भिकता सकिनेछ।

यसअघि भएको मकवानपुरको निर्वाचनलाई एन्फाले मान्यता दिएको थिएन। भक्तपुरको हकमा भने जिल्ला अदालतमा रिट दायर भएपछि निर्वाचन हुन सकेको थिए। एन्फाले मकवानपुरमा फेरि निर्वाचन गर्न निर्देशन दिएको हो भने भक्तपुर जिल्ला फुटबल विरुद्ध परेको मुद्दा फिर्ता भएको हो।

एन्फा अध्यक्षका प्रत्यसी कर्माछिरिङ शेर्पाले दुई जिल्लामा निर्वाचन भएर केन्द्रीय समितिको निर्वाचन हुने वातावरण बनेपछि एन्फामाथि लाग्न सक्ने सम्भावित निलम्बन टरेको दाबी गरे।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शेर्पाले मताधिकार पाएका ४७ जनाले फिफालाई पत्र पठाउँदै फुटबल विकासका लागि मौका दिन आग्रह गरेका थिए। 'विवादित दुई जिल्लाको निर्वाचन हुने वातावरण भएको छ, ' शेर्पाले भने, 'त्यसैले काठमाडौंमा उपलब्ध ४७ जनाले फिफालाई पत्र पठाउँदै मौका दिन आग्रह गरिएको थियो।'

पत्रपछि फिफाले सकेसम्म छिटो निर्वाचन गर्न पत्र पठाइसकेको छ। 'तत्कालका लागि नेपाली फुटबल ठूलो दुर्घटनाबाट जोगिएको छ,' शेर्पाले भने, 'तर, यो अन्तिम मौका हुन सक्छ। त्यसलै अब निर्वाचन गर्नुको विकल्प छैन।'

शेर्पाले निर्वाचन रोक्नका लागि फेरि पनि अवरोध हुन सक्ने बताउँदै सचेत रहन सबैलाई आग्रह गरे। 'नक्कली मुद्दा खडा गरेर फेरि पनि निर्वाचनलाई बाधा पुग्न सक्छ। सचेत रहन आग्रह गर्छु,' उनले भने।

दुई जिल्लाको निर्वाचनपछि एन्फाको निर्वाचन समितिले वैशाखको पहिलो साता केन्द्रीय समितिको निर्वाचन तोक्ने बताइएको छ। एन्फाको ४ वर्षको कार्यकाल कार्तिक पहिलो साता सकिएको थियो। केन्द्रीय समितिको पदावधि बढीमा ६ महिना मात्र लम्बाउन सकिने व्यवस्था छ। यसर्थ वैशाख पहिलो साता निर्वाचन गर्नुपर्ने वाध्यता छ।

एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ। कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्वअध्यक्ष गणेश थापाको समर्थन छ। शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्वसिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ।