आइतवारदेखि करिब एक लाख ७५ हजार कर्मचारी खटाउन लागिएको

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 17

निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आइतवारदेखि करिब एक लाख ७५ हजार कर्मचारी खटाउन लागिएको जनाएको छ।

ती कर्मचारीले मंगलवारदेखि मतदान स्थल निर्माणको काम शुरु गर्ने आयोगका एक अधिकारीले बताए।

४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३ सय ४४ मतदान केन्द्रको व्यवस्था गरिएको छ।

४५ जिल्लामा बिहीवार हुने दोस्रो चरणको चुनावका लागि खटिने कर्मचारीले सदरमुकामसम्म पुगिसकेका निर्वाचन सामाग्री बुझेर आइतवारदेखि मतदान स्थल निर्माणमा व्यस्त हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए।

सुरक्षा निकायको परिचालन 'थप सशक्त'
प्रस्थान

उनले भने, "सात हजार ७ सय ५२ स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि आयोगले खटाएको करिब एक लाख ७५ हजार कर्मचारी सोमवार तोकिएको मतदान केन्द्रमा पुग्ने गरी आइतवारदेखि प्रस्थान गर्नुहुन्छ। उहाँहरुले १९ र २० गते त्यहीको मतदान केन्द्रको निर्माण गर्नुहुन्छ।"

सात हजार ७ सय ५२ स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि आयोगले खटाएको करिब एक लाख ७५ हजार कर्मचारी सोमवार तोकिएको मतदान केन्द्रमा पुग्ने गरी आइतवारदेखि प्रस्थान गर्नुहुन्छ।
नवराज ढकाल, प्रवक्ता, निर्वाचन आयोग

चुनावअघि उनीहरुले मतदाता शिक्षा कार्यक्रम पनि चलाउने छन्।

प्रत्येक मतदान केन्द्रमा ७ देखि ९ जना कर्मचारी खटाइएको आयोगले जनाएको छ।

निर्वाचनका लागि चाहिने भनिएका ६७ सामाग्रीमध्ये मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, स्वस्तिक छाप र मसी लगायतका सामाग्री आयोगले पठाएको छ।

सजिलै पाइने करिब १७ प्रकारका सामाग्री भने स्थानीय तहबाटै खरिद गर्ने व्यवस्था मिलाइएको बताइएको छ।
अधिकांश

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएका चुनावमा करिब ३२ लाख मतदाताले ४ हजार ४सय ६५ मतदान स्थलबाट मतदान गरेका थिए।

दोस्रो चरणमा १५ हजारभन्दा बढी मतदान केन्द्र रहेको प्रवक्ता ढकालले बताए।

उनका अनुसार बिहीवार हुने चुनावमा मतदाताको संख्या पनि धेरै छ।

ढकालले भने, "दोस्रो चरणको निर्वाचनका लागि एक करोड २२ लाखभन्दा बढी मतदाताले प्रतिनिधि सभाको १ सय २८ सीट र प्रदेश सभाको २ सय ५६ सीटका लागि मतदान गर्नुहुनेछ। पहिलो चरणको तुलनामा मतदान केन्द्रको संख्या र भूगोल पनि ठूलो छ।"

पहिलो चरणको निर्वाचनमा उच्च हिमाली र केही पहाडी जिल्लामा सामाग्री ढुवानी गर्न भौगोलिक विकटताका कारण हेलिकप्टरको प्रयोग गरिएको थियो।

तर दोस्रो चरणको चुनावमा अधिकाशं सामाग्री पुर्‍याउन स्थलमार्ग प्रयोग गरिने आयोगले बताएको छ।