तराई केन्द्रित दलका गठबन्धन प्रयत्न

[[IMG_ALT]]

BSG News | Nagar News | Ashwin 19

तराई केन्द्रित दलहरुले नेपाली कांग्रेस लगायत बामपन्थी दलहरुसँग चुनावी गठबन्धन प्रयत्न भइरहेको बताएका छन्।
राष्ट्रिय जनता पार्टी नेपालले भने बामपन्थी दलहरुसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताएको छ।
तर तराईकै संघीय समाजवादी फोरम नेपालले भने आफ्नो मुद्दासँग मेलखाने कुनै पनि दलसँग सहकार्य गर्न सक्ने भन्दै वार्ताका लागि एक टोली गठन गरेको बताएको छ।
स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा तेस्रो भएको राजपाले काँग्रेस लगायत अन्य चार दलसँग चुनावी तालमेलको सम्भावना अध्यययन गर्न सहमत भएको राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले बताए।
कार्यदल
उनले भने, "बाम गठबन्धनसँग चुनावी तालमेल हुन सक्दैन। गठबन्धन हुने भनेको नेपाली काँग्रेस, कमल थापा नेतृत्व र पशुपति शम्शेरको राप्रपा तथा उपेन्द्र यादव र विजय गच्छेदारको दलसँग हुने हो। यो ६ वटा पार्टीभित्र तालमेल कसरी गर्ने भनेर एक कार्यदल बनेको छ।"
स्थानीय तहको तेस्रो चरणको निर्वचानमा प्रदेश नम्बर दुईमा दोस्रो स्थान ल्याएको संघीय समाजवादी फोरम नेपाल पनि सो कार्यदलमा सहभागी भएको छ।
तर उसले अन्य दलसंगको तालमेलको संभावना पनि बाँकी रहेको बताएको छ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउतले भने, "विभिन्न राजनीतिक दलहरुसँग छलफल अघि बढाई आउने चुनावमा गठबन्धन गर्ने हिसाबले बुधबार एक वार्ता समिति गठन भयो। हाम्रो मुद्दालाई सम्बोधन गराएर अगाडी बढ्ने खालको दल आउँछ भने उसँग हामी अधिकतम लचकताका साथ अगाडि बढ्छौं। राजपा हाम्रो प्रथमिकतामा हुन सक्छ तर अन्य राजनीतिक दलहरु काँग्रेस माओवादी केन्द्र र एमाले पनि हुन सक्छ।"
मंगलबार नेकपा एमाले माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीबीच भएको गठबन्धन सहमतिले आम निर्वाचनको सम्मुखमा संघन राजनीतिक ध्रुबीकरण निम्त्याएको देखिन्छ।