सीमा नाकामा सुरक्षा प्रबन्ध थप कडा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 15

दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा भएका हिंसाका घटनालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा सुरक्षा प्रबन्ध थप कडा तुल्याइएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार हिंसाका घटनामा प्रयोग भएका विस्फोटक पदार्थ भारतबाटै नेपाल भित्रिएको पाइए पछि सीमानाकामा कडाइ गरिएको हो।

निर्वाचन आयोगले चुनावी सुरक्षाबारे सुरक्षा निकायहरुसँग शुक्रवार छलफल गर्दैछ।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका क्रममा गराइएका हिंसाका घटनामा एकजना मारिएका छन् भने एकजना उम्मेदवार सहित कयौं घाईते भएका छन्।
जाँच

अधिकांश हिंसाका घटनाहरुमा विष्फोटक पदार्थ प्रयोग गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

सुरक्षा निकायले पूर्वजानकारी पाएका स्थानका विष्फोटक पदार्थ निष्क्रिय पारेको छ।

भारतबाट सामाग्री ल्याएर विष्फोटक पदार्थ बनाइने गरिएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने, "भारतीय र नेपाली सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने, चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। अवैध सामाग्रीहरु नेपालमा भित्रिन नपाउन भनेर संवेदनशील सीमानाकामा कुकर र विद्युतीय जाँच मेसिनको प्रयोग गरिएको छ। "

संवेदनशील सीमानाकामा विद्युतीय जाँच मेसिनको प्रयोग गरिएको छ
मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी

चुनाव लक्षित आक्रमण बढ्न थाले पनि सुरक्षा प्रबन्ध मिलाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको थियो।

पछिल्ला दिनमा उम्मेदवार नै आक्रमणको निशानामा पर्न थालेका छन्।

गृह मन्त्रालयले उम्मेदवारले माग गरे अनुसारको सुरक्षा प्रदान गर्न निर्देशन दिइएको जनाएको छ।
नियन्त्रण

गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी भन्छन्, "उम्मेदवार सुरक्षा र सम्पूर्ण निर्वाचन सुरक्षाका लागि कटिबद्ध भएर लागेका छौं जिल्लाका सुरक्षा समिति र सुरक्षा निकायलाई त्यसरी व्यवस्था गर्न निर्देशन दिएको छ छिट्टै परिणामा देख्न सकिने गरि नियन्त्रणमा ल्याउछौं।"

प्रहरीका अनुसार उसले अहिलेसम्म ५२ थान हातहतियार र थुप्रै स्थानबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ।

साथै हातहतियार र बिस्फोटक पदार्थ सहित करिब अढाइ सयजना र निर्वाचन विरोधी क्रियाकलापमा संलग्न ५ सयजना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

सुरक्षा चिन्ता बढ्दै जाँदा निर्वाचन आयोगले शुक्रवार सुरक्षा अधिकारीहरुसँग छलफल गर्दैछ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाको समीक्षा गरिने र बढ्दै गएका हिंसाका घटनालाई निस्तेज पारेर ढुक्कले प्रचारप्रसार र मतदान गर्न पाउने वातावरण सृजना गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ।