प्रधानमन्त्रीसहितका शीर्षस्थ नेताहरु र उनीहरुकै दलहरुले चुनावी आचारसंहिता उल्लंघन गरेको

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 12

प्रधानमन्त्रीसहितका शीर्षस्थ नेताहरु र उनीहरुकै दलहरुले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै तीव्र आलोचना भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कामका लागि भनेर लगिएको हेलिकप्टर सोही क्रममा आफ्नो दल नेपाली कांग्रेसको चुनावी सभास्थल पुग्न पनि प्रयोग गरेको विवरणहरु अधिकारीहरु तथा नेताहरुले पुष्टि गरेका छन्।

वाम गठबन्धनले मंगलवार राजधानीमा गरेको कार्यक्रममा पनि धेरै सवारीसाधनको ओहोरदोहोर हुने मुख्य सडकमार्ग नै अवरुद्ध पारेर कार्यक्रम गरेको थियो जुन घटनालाई पनि आचारसंहिता विपरीत भनिएको छ।
पार्टीको काममा सरकारी साधन

दैनिक जसो प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टरको प्रयोग गर्दै देश दौडाहा गरिरहेका छन्।

प्रायजसो नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्दै आएका उनले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला पुगेर चुनावीसभालाई सम्बोधन गर्ने गरेका छन्।

मंगलवारमात्रै पश्चिम नेपालका छ वटा कार्यक्रमलाई सम्बोधन गरेका उनले नेपाली सेनाकै 'सुपर पुमा' हेलिकप्टर प्रयोग गरेको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता नैनराज दाहालका अनुसार मंगलवार प्रधानमन्त्रीलाई सेनाको पृतनाहरुको निरीक्षण कार्यक्रमका लागि उक्त हेलिकप्टर उपलब्ध गराइएको थियो।

सेनाले त्यस्तो भने पनि प्रधानमन्त्रीले अधिकांश समय पार्टीका चुनावी सभा सम्बोधन गर्नमा प्रयोग गरेको पाइएको छ।

प्रधानमन्त्री सरकारको काममा जाँदा, सरकारको काममा जाँदा सरकारी हेलिकप्टर प्रयोग गर्ने भन्ने छ। तर उहाँ जुन कामका लागि जानु भएको हो, त्यो काममा बाहेक अर्को काम गरिसकेपछि तुरुन्तै आचारसंहिता आकर्षित भएको हुनाले निर्वाचन आयोगले कारबाही गर्न सक्नुपर्छ, त्यो आवश्यक छ
नीलकण्ठ उप्रेती, पूर्व प्रमुख निर्वाचन आयुक्त

उल्लंघन

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती त्यसलाई आचारसंहिताको उल्लंघनका रुपमा चित्रण गर्छन्।

उनले भने, "प्रधानमन्त्री सरकारको काममा जाँदा, सरकारको काममा जाँदा सरकारी हेलिकप्टर प्रयोग गर्ने भन्ने छ। तर उहाँ जुन कामका लागि जानु भएको हो, त्यो काममा बाहेक अर्को काम गरिसकेपछि तुरुन्तै आचारसंहिता आकर्षित भएको हुनाले निर्वाचन आयोगले कारबाही गर्न सक्नुपर्छ, त्यो आवश्यक छ।"

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीले यसअघि प्रयोग गरेको हेलिकप्टरको खर्च उनकै दलबाट बेहोरिएको जनाएको छ।

तर प्रधानमन्त्रीको दल नेपाली कांग्रेसले निर्वाचन आयोगबाट सहमति लिएर हेलिकप्टरको प्रयोग गरिएको र पार्टीकै खर्चमा गर्ने योजना भए पनि सुरक्षाका कारण सेनाको हेलिकप्टर प्रयोग गर्नुपरेको बताएको छ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले भने, "प्रधामन्त्रीले पनि पार्टीकै स्रोत साधन प्रयोग गर्ने योजना बनाएका थिए तर सुरक्षा निकायहरुले प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिनु पर्ने भनेकाले सरकारी साधन प्रयोग गर्नु परेको हो"।

प्रधामन्त्रीले पनि पार्टीकै स्रोत साधन प्रयोग गर्ने योजना बनाएका थिए तर सुरक्षा निकायहरुले प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिनु पर्ने भनेकाले सरकारी साधन प्रयोग गर्नु परेको हो
बालकृष्ण खाँड, कांग्रेस नेता

बाटोमा अवरोध

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले मंगलवार राजधानीको बानेश्वरमा सडक अवरुद्ध पारेर गरेको कार्यक्रम पनि निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आलोचना भएका छन्।

निर्वाचन आयोगले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

आयोगद्वारा जारी विज्ञप्तिमा पत्रिकाहरुमा छापिएको एमालेको चुनावी विज्ञापनलाई लिएर उक्त पार्टी र विज्ञापन छाप्ने पत्रिकाहरुलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जनाइएको छ।

आयोगले हालसम्म आचार संहिता उल्लङघनका घटनाहरुमा कसैलाई कारबाही गरेको नदेखिएको जानकारहरु बताउँछन्।