डा. केसीको बयान प्रक्रिया केहीबेरमा शुरु हुने

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 25

चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि उनलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

'अदालतको हिजोको आदेश अनुसार हामीले उहाँलाई बिहान ९ बजे अदालतमा उपस्थित गराएका छौँ,' नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने।

अदालतमा उपस्थित गराइएका डा. केसीको बयान प्रक्रिया केहीबेरमा शुरु हुने सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताए।

उनले भने, "आजको इजलास तोकिसकिएको छैन। इजलास तोकिएपछि अदालतको प्रक्रिया अनुसार उहाँको बयान लिने काम शुरू हुन्छ।"

अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ

विरोध र्याली
अदालतको फैसलाविरुद्ध अमर्यादित र अशिष्ट अभिव्यक्ति दिएको भन्दै डा. केसीलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएपछि सोमवार साँझ उनलाई अस्पतालबाटै पक्राउ गरिएको थियो।

डा. केसीले अदालतको पछिल्ला फैसलाहरू चिकित्सा शिक्षा क्षेत्रमा असर पर्ने खालको भएको भन्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खासीको माग गर्दै सोमवारदेखि अनशन शुरु गरेका थिए।
डा. केसीलाई पक्राउ गरिएको विरोधमा मंगलवार बिहान माइतीघर मण्डलामा उनका समर्थकहरूले प्रदर्शन गरेका छन्।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा. शशि शर्मालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि त्यसको विरोधमा डा. केसीले अदालतको आलोचना गरेका थिए।

पक्राउ परे पनि अनशन भने नतोड्ने उनले बताएका छन्।

डा. केसीको पक्राउलाई लिएर सामाजिक सञ्जालहररुमा पनि विरोध गरिएको छ।