नेपाल र अफगानिस्तान: बढ्दो दूरी

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Mangshir 2

नेपाली क्रिकेटको यात्रामा प्राय: वाधक बन्दै आएको ठानिएको अफगानिस्तानसंग १९ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको यु-१९ एसिया कप प्रतियोगिताको फाइनलमा पुग्न सकेन।

गएको एक दशकमा नेपाल र अफगानिस्तान बीच भएको राष्ट्रिय टोलीदेखि उमेर समूहका महत्वपूर्ण उपलब्धिका बेला अफगानिस्तान नै नेपालको बाटोमा तगारो बनेको इतिहास छ।

कतिपय विश्लेषकको भनाइमा अफगानिस्तानले त्यो सफल बाटो समायो, जुन सपना नेपाली टोलीले देखेको थियो र जसको लागि आइसीसीले पनि नेपाललाई योग्य सम्झेको थियो।
इतिहास

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा छरितो प्रगति गर्नसक्ने फास्ट ट्रयाक राष्ट्रको छवि बनाइसकेको थियो।

त्यतिखेर टेष्ट नखेल्ने एसोसियट राष्ट्रमा नेपाल पहिलो स्थानमा थियो। नेपाल र अफगानिस्तान: बढ्दो दूरी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको नयाँ क्रिकेट राष्ट्र बन्न सक्ने सम्भावनाको सूचीमा नेपाल परेको थियो।

तर जब सन् २००४ मा नयाँ राष्ट्रको रुपमा अफगानिस्तानको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश भयो, नेपालको गति रोकिएजस्तै हुन पुगेको क्रिकेट विश्लेषकहरु बताउँछन्।

हावी

राष्ट्रियदेखि उमेर समूहको प्रतिस्पर्द्धामा अनि टी-२० देखि एकदिवसीय कुनै पनि शैलीको प्रतियोगितामा नेपालमाथि अफगानिस्तान हावी हुन थाल्यो।

राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, " डिभिजन ५ देखि टेष्ट मान्यता पाउने यात्रामा उनीहरुले प्रगति गरे । उनीहरुले घरेलु संरचना देखि प्रान्तीय टोली बनाउने अनि भारतलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको घरेलु मैदान बनाउने जस्ता काम गरिसकेका छन्। उनीहरुको योजनाले नतिजा दियो। उनीहरुको संरचना राम्रो बन्दै जाँदा हामी भने जहाँको त्यहीं रह्यौं। "

सन् २००० देखि २००८ सम्म ५ पटक १९ वर्ष मुनिको विश्वकप पुगेर एकछत्र राज गरेको नेपालको दबदबा सन् २००९ मा अफगानिस्तानले नै रोकेको थियो।

उनीहरुले घरेलु संरचना देखि प्रान्तीय टोली बनाउने अनि भारतलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको घरेलु मैदान बनाउने जस्ता काम गरिसकेका छन्। उनीहरुको योजनाले नतिजा दियो। उनीहरुको संरचना राम्रो बन्दै जाँदा हामी भने जहाँको त्यहीं रह्यौं
ज्ञानेन्द्र मल्ल, उपकप्तान, राष्ट्रिय क्रिकेट टोली

त्यसयता नेपाल जम्मा दुईपटक मात्र युवा विश्वकपमा पुग्यो । तर ती दुवै अवसरमा नेपालले अफगानिस्तानको सामना गर्नुपरेको थिएन।

एकदिवसीय प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जम्मा २ पटक हराएको छ।

जसमा सन् २०१३ को टी-२० विश्वकपमा ९ रनको जीत भने अवस्मरणिय बनेको थियो।
फरक

सन् २००८ मा आइसीसी डिभिजन ५ श्रेणीको प्रतियोगितामा नेपाललाई हराएपछि नेपाल र अफगानिस्तानको यात्रामा भिन्नता आएको धेरै ठान्छन्।

नेपालले १५ वर्ष देखि मूलपानीको एउटा खेल मैदान पनि पूर्ण रुपमा तयार पार्न सकेको छैन

खेल पत्रकार बिनोद पाण्डेले भने, " उक्त खेलको सेमिफाइनलमा हराएर अफगानिस्तान डिभिजन ४, डिभिजन ३ हुंदै विश्वकप छनोटसम्म पुग्यो। नेपाल पछि छुट्यो। "

आइसीसीले टोलीले गरेको प्रगतिको आधारमा रकम निकासा गर्ने हुनाले अफगानिस्तानले चाँडै नै त्यस्तो सुविधा उपयोग गर्न पायो, जसलाई युवा खेलाडीहरुको विकासमा प्रयोग गरियो।

मैदान भित्रको खेल र मैदान बाहिरको प्रशासनमा यी दुई देश बीच दूरी देखिन थाल्यो।

युद्धग्रस्त देश अफगानिस्तानको सरकारले नै क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्यो।

क्रिकेटमा आफैले लगानी गर्‍यो र अन्तर्राष्ट्रिय लगानीको लागि आह्वान पनि गर्‍यो।

तर नेपाली क्रिकेट भने राजनीतिक दलहरुले आफ्नो कब्जा गर्ने स्वार्थको खेल बन्न पुग्यो।

अफगानिस्तानमा विदेशी सहायता ह्वात्तै बढीरहंदा नेपाल क्रिकेट संघ भने आइसीसीले दिएको हिसाब समेत बुझाउन नसकी थप सहायता रोक्का हुने अवस्थामा पुगेको देखियो।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भने, " क्रिकेट संघमा राजनीति यतिसम्म हावी भयो कि उनीहरु आफूले के पाउन सक्छु भन्ने साना साना कुरामा अल्झिन पुगे। बजेट भित्राउन सक्नुपर्नेमा भएको बजेटको प्रयोग त के हिसाब पनि देखाउन सकेनन्। "
पूर्वाधार

अहिले अफगानिस्तानमा २ ठूला क्रिकेट रंगशाला निर्माण भइसकेका छन् भने ५ वटा नयाँ रंगशालाको निर्माण पुरा हुने क्रममा छ।

जबकि नेपालले १५ वर्ष देखि मूलपानीको एउटा खेल मैदान पनि पूर्ण रुपमा तयार पार्न सकेको छैन।

क्रिकेट संघका पूर्व सदस्य धिरेन्द्र साउदले भने, " दोष हाम्रै हो । खै खेलाडीहरुले खेल्न पाएका ? खै पूर्वाधार र योजना ? "

झन्डै एक दशकको बीचमा अहिले अफगानिस्तानले एकदिवसीय हुँदै टेष्ट राष्ट्रको मान्यता पाँउदा नेपाल क्रिकेट संघ भने अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको छ।

अफगान खेलाडीहरुले भारतको प्रतिष्ठित टी-२० प्रतियोगिता आइपीएलदेखि क्यारेवियन लिगमा छाँउदा नेपाली खेलाडीहरु घरेलु क्रिकेटका केही फाट्टफुट्ट प्रतियोगिता खेलेर चित्त बुझाउन वाध्य देखिन्छन्।
तस्वीर कपीराइट NSJF
Image caption उचित व्यवस्थापन र नियमित अभ्यास पाए नेपाली टोलीले अझ प्रगति गर्न सक्ने विश्वास धेरैमा देखिन्छ

गति

राष्ट्रिय टोलीका खेलाडीहरु आफ्नो आँखा अगाडि अफगानिस्तानले लिएको गति टुलुटुलु हेर्न वाध्य छन्।

उपकप्तान मल्लले अफगानिस्तानको प्रगतिमा उनीहरुको मेहनतलाई श्रेय दिंदै आफ्नो टोलीको बारे भने, "हामीहरु पछि परेका होइनौं, जहाँको तहिँ रोकिएका भने हौं।"

कतिपयले पछिल्लो समय लगातार रुपमा अफगानिस्तानसंग हार्नुलाई बढ्दै गएको यो दूरीलाई नै मान्छन्।

क्रिकेट प्रशिक्षक राजु बस्नेतले भने," जस्तै भारतसंग खेल्दा हामीलाई केही गुमाउनु थिएन। त्यसैले उनीहरु दबाबमुक्त भएर खेले र परिणाम निकाले। तर अफगानिस्तानलाई हामीहरु बराबरको टोलीको रुपमा हेर्छौं। अनि खेलाडीहरु दबाबमा खेल्छन् " ।

यद्यपि क्रिकेट विश्लेषकहरु यस्तो अवस्थामा पनि भारतलाई हराउने क्षमता राख्ने नेपाली खेलाडीहरुलाई कम आँकीहाल्न भने नमिल्ने बताउँछन्।

उनीहरु भन्छन्, अफगानिस्तानले नेपाललाई धेरै पर छोडिसकेको छ। तर व्यवस्थापन सुधारिएर खेलाडीहरुले नियमित क्रिकेट खेल्न पाए भने अफगानिस्तानको यात्रालाई नेपालले पछ्याउन सक्छ।
श्रोत बि.बि .सि नेपाली