निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह -निर्वाचन आयोग र गृह मन्त्रालय

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 20

हालै देशका विभिन्न स्थानमा भएका विस्फोटनका घटनाले सुरक्षा चिन्ता बढाएपनि निर्वाचन आयोग र गृह मन्त्रालयले मतदाताहरुलाई बिहीबार निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थल र हवाई गस्तीको समेत व्यवस्था गरिएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

प्रहरीले हालसम्म निर्वाचन हिंसामा संलग्न रहेका ९ सय भन्दा बढीलाई पक्राउ गरिसकेको जनाएको छ।

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी चल्दै गर्दा भएका विस्फोटनका घटनाले एक प्रकारको त्रास सृजना गरेपनि मतदानको अघिल्लो दिन निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाल प्रहरीले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी ढंगले मिलाइएको सन्देश दिन खोजेका छन्।
आग्रह

सरकारको सुरक्षा व्यवस्थाबाट सन्तुष्ट देखिएका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै भने, "एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र संक्रमणकालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न र सरकारले गरेको सुरक्षाको पूर्ण प्रत्याभूतिप्रति विश्वस्त हुँदै मतदान कार्यक्रममा सहभागी हुन आग्रह गर्छौं।"

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गरी ३ वटा सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका रथीलाई दायाँ, बायाँ राखेर पत्रकारहरु माझ प्रस्तुत भएका गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका क्रममा कुनै घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए।

निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ। यसका लागि मोवाइल गस्ती, 'स्ट्राइकिङ', 'पेट्रोलिङ', हवाइ गस्ती सम्म मिलाइएको छ
मोहनकृष्ण सापकोटा, सचिव, गृह मन्त्रालय

उनले भने, "निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ। यसका लागि मोवाइल गस्ती, 'स्ट्राइकिङ', 'पेट्रोलिङ', हवाइ गस्ती सम्म मिलाइएको छ।"

"कुनै पनि घटना हुन नदिने र यदि कतै घटना र दुर्घटना भएमा १० देखि ३० मिनेटमा थप टोली पुग्ने व्यवस्था गरिएको छ।"

गृह सचिवले हालसम्म भएका हिंसाका घटनामा को संलग्न छ भन्ने बारेमा खुलाउन नचाहे पनि नेपाल प्रहरीले भने प्रारम्भिक अनुसन्धान भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता पाइएको जनाएको छ।
पक्राउ

प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार ९ सय भन्दा बढी पक्राउ परेकामा ६ सय जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र १३ जना सिके राउत समर्थकहरु छन्।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुने छ, जसमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ।

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेकोमा दोस्रो चरणमा त्यो बढेर ७० प्रतिशत भन्दा बढी हुने अनुमान निर्वाचन आयोगले गरेको छ।