“स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वस्थ रहने राम्रो विकल्प नारा सहित "प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१" औपचारिक रुपमा मिति २०८१ वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ ।

युवाका हकहितको संरक्षण र सम्बर्द्धन गरी खेलकुदको माध्यमबाट विद्यार्थी, युवा तथा सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न, राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडि उत्पादन, युवालाई उद्यमशिल चनाउने उद्देश्य पुरा गर्ने हेतुका साथ बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डले यस महोत्सव आयोजना गर्न लागेको खेलकुद संयोजक सुमन तामाङले जानकारी दिनुभयो ।

बोर्डले यहि वैशाख १९ गतेदेखि २२ गते शनिबारसम्म (चार दिन) वडा नं ०५ मा अवस्थित बुढानीलकण्ठ स्कूलमा विभिन्न ८ वटा विधाका खेलमा प्रतिस्पर्धा गराउनुका साथै रेस्लिङ्ग खेल र मोईथाई जस्ता परम्परागत खेलको प्रदर्शनी कार्यक्रम रहेको संयोजक तामाङले जानकारी दिनुभएको छ ।

प्रतिस्पर्धामा कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन जस्ता केलहरु समावेश भएका छन् । फुटबल खेल भने १३ वटै वडा-वडा विच प्रतिस्पर्धा गराउने उहाँले जानकारी भयो ।

यस्तै यस महोत्सवका लागी अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठलाई ब्राण्ड एम्बास्डर (Brand Ambassador) रुपमा घोषणा गरिएको छ ।

सन्तोषी श्रेष्ठ एथलेटिक्स अन्तर्गतको दौड प्रतिस्पर्धाको नेपाली महिला खेलाडी हुन्। उनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन्। सन्तोषी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १०००० मिटर दौडमा एथलेटिक्समा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड दर्ता गरेकी छिन्। सन्तोषी श्रेष्ठ जनस्वास्थ्यको विद्दार्थी हुन् र उनी जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा काम गरेकी थिइन्। २०७४ मंसिरदेखि पुर्ण रूपले दक्षिण एसियाली खेलकुदको तयारीमा लागेकी थिइन।

बुढानीलकण्ठ नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय र प्राकृतिक श्रोतहरुको राम्रो सम्भावना रहनुको साथसाथै यहाँका नगरवासीहरु विभिन्न समयको कालखण्डदेखि वर्तमान समयसम्म विभिन्न खेलकुदको खेल माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचानहरु स्थापित गरिरहँदा ती प्रतिभाहरुलाई संगठित रुपमा हालसम्म बुढानीलकण्ठ नगरपालिकाको अभिलेखमा व्यवस्थित गर्न नसकिरहँदाको अवस्थालाई अन्त्य गर्दै आउने दिनमा ती सबै प्रकारका खेलाडीहरुलाई नगरपालिकासँग आवद्ध साथै सुशुप्त रुपमा रहेका खेल प्रतिभाशाली खेलाडिहरुलाई आवश्यकता र औचित्यको आधारमा बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट हरसम्भवले संरक्षण, संवर्द्धन र प्रोत्साहन गरिने नगर प्रमुख मिठाराम अधिकारीले बताउनुभयो ।

महोत्सवको तयारीको लागी मुल आयोजक समिति गठन गरिएको छ । जसमा खेलकुद संयोजक आफै संयोजक हुनुहुन्छ भने सदस्यमा वडा नं ०३ सदस्य विकास तामाङ, सुमन लामा, विराज राणा, दिपक दुलाल, सञ्जय श्रेष्ठ, गणेश तामाङ, सुरज श्रेष्ठ, राजु राई, अजय बस्नेत, ईश्वर मनि राई, महेश श्रेष्ठ लगायत पुष्प राउत हुनुहुन्छ ।