क्लोथ एण्ड फुड बैंक नेपालको संरक्षक एवं महानायक राजेश हमालद्वारा बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन गरिएको छ।

आज मिति २०८१ भाद्र २७ गते बिहिबार बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा विशेष समारोह आयोजना गरी महानायक हमालको प्रमुख उपस्थितिमा नगर प्रमुख मिठाराम अधिकारीले संयुक्त रुपमा बुढानीलकण्ठमा कपडा बैंकको उद्घाटन गर्नुभएको हो । 

 

कोहि कपडा बिहिन नरह‍ुन भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै  देशका सातैवटा प्रदेशमा कपडा बैंक सञ्चालनमा ल्याएको क्लोथ बैंक नेपालले बुढानीलकण्ठ नगरपालिकामा आजबाट यस कार्यक्रमको शुरुवात गरिएको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

आफ्नो प्रयोगमा नआएका प्रयोगजन्य सामग्रीहरु जसमा कपडा, झोला, ब्याग, जुता-चप्पल, बेल्ट, सुटकेश तथा पुस्तक पुस्तिकाहरु नगरपालिका को नजिकै रहेको कपडा बैंकको ड्रप बक्समा जम्मा गर्नका निमित्त उपस्थित महानायक हमालले सबैमा अनुरोध गर्नुभएको छ। 

आफ्नो वरपरको वातावरणलाई कपडा लगायतका प्रयोगजन्य वस्तुहरुले असर पुर्याइरहेको अवस्था तथा उक्त सामाग्रीहरुलाई पुनः प्रयोगयोग्य अवस्था सिर्जना गरि संकलित कपडाहरुलाइ पुन प्रशोधन (Recycle) गरि आवश्यकताका आधारमा वितरण गरिने यस कार्यक्रमका अध्यक्ष कमल जि.सि. बताउनुहुन्छ। 

हाल बु.न.पा.का दुई स्थानहरु नगरपालिकाको कार्यालय हात्तीगौडा तथा अर्को वडा नं. १० कपन आकाशेधारामा  कपडा बैंकको बक्स (Dropbox) राखिएका छन् ।

प्रयोगमा नआएका र अन्य आवश्यकता भएका व्यक्तिहरुका लागि उपयोग गर्न योग्य सामाग्रीहरु पुन:प्रशोधन गरेर आवश्यक पर्नेहरु सबैका लागि निःशुल्क वितरण गर्ने यो अभियानको लागि तोकिएका दुवै स्थानमध्ये आफूलाई पायत पर्ने स्थानमा राखिएका कपडा कन्टेनरमा संकलन गरिदिनुहुन सम्पुर्णमा नगर प्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ । 

आज भएको उद्घाटन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, महानायक राजेश हमाल, नगर प्रवक्ता नवराज भट्टराई, प्रमुख प्रसाशकीय अधिकृत तुल्सीराम अर्याल, क्लोथ बैंक नेपालका अध्यक्ष किरण जि.सि., सम्पुर्ण वडाका वडाध्यक्षहरु, वडा सदस्य लगायत कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।