ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । घिमिरेको हत्यामा विगतमा चोरी, लुटपाट, कुटपिटलगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका- १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार भक्तपुरको चाँगुनारायण– १ का २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ पक्राउ परेका छन् । त्यस्तै, स्याङ्जाको आँधीखोला गाउँपालिका– ३, विजय चौतारीकी २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका- ३ विजय चौतारीकी ५६ वर्षीया नुनमाया कार्की रहेका छन् । उनीहरू हाल बालाजु जरंखु, मनमैजुलगायतका स्थानहरूमा सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेको रजौरेले जानकारी दिए ।

त्यस्तै, नुवाकोटाको ओखरेका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका– १ का ३० वर्षीय दोर्जे अमृत तामाङ, एक जना १३ वर्षका नाबालक रहेको रजौरेले जानकारी दिए ।

घिमिरेको हत्या किन भयो भन्नेबारेमा अनुसन्धान जारी रहेको उनको भनाइ छ । प्रारम्भिक रूपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका– ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको उनले बताए । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको रजौरेको भनाइ छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उहाँ ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिनुभएको थियो ।