पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

गौशाला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) केशवराज थेबेले कोषका तर्फबाट भेटी चोरी भएको र संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरबाट भेटी लुकाएर लैजाने गरेको विषयमा जानकारी आयो र हाम्रो टोलीले अनुसन्धान गर्न लिएर आएको छ ।”

कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलेको छैन । 

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।