तीन दलका शीर्ष नेताहरुको चुनावी अभियान तीव्र

[[IMG_ALT]]

BSGNEWS | National News | Mangshir 18

प्रमुख तीन दलका शीर्ष नेतामध्ये प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतवार आफ्नै क्षेत्रका मतदातालाई रिझाउने प्रयास गरे भने एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई सघाउन चितवन पुगे।
चुनावी सभामा उनीहरुले मतदाताका स्थानीय आवश्यकतालाई सम्बोधन गर्न वचनमात्रै दिएनन्, जारी राजनीतिक आरोप प्रत्यारोपलाई पनि निरन्तरता दिए।
पुरानै तर्क
राजधानीको सरकारी काम र देशका विभिन्न जिल्लामा चुनावीसभा सकेर सुदूरपश्चिम गएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीलाई आधार बनाएर चुनावीसभाहरुमा पुग्ने गरेका छन्।
आइतवार उनले आफूनै उम्मेदवार भएको डडेल्धुरामा पार्टीले आयोजना गरेका सभाहरुलाई सम्बोधन गरेका छन्।
प्रचण्ड उठेको निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष ओली पनि पुगेका थिए। स्थानीय विकास निर्माण र समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धतामै लामो समय खर्चिएका उनले विपक्षी गठबन्धलाई लगाउँदै आएको कतिपय आरोप दोहर्याए। उनले भने, "उनीहरु (वाम गठबन्धन) यो संविधान संशोधन गरेर राष्ट्रपतीय पद्धतिमा जान खोज्दैछन्। यो संविधानलाई च्यातेर एक जना व्यक्तिले शासन गर्ने भनिएको हो र त्यो निरंकुश हुन्छ अनि कम्युनिष्ट शासनमा अन्याय भयो भन्न पाइदैन, अन्यायको विरोध गर्न पाइँदैन, भयमुक्त शासन हुँदैन।"
प्रतिवाद
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा उनलाई सघाउन पुगेका एमाले अध्यक्ष केपी ओलीले जनताको विकासका चाहना अब पूरा हुने भन्दै काँग्रेसप्रतिको आलोचना जारी राखे। उनले प्रधामन्त्री देउवाको भनाइको प्रतिवाद गर्दै आफूहरुबीचको एकता निरंकुशताका लागि नभइ देश विकासका लागि भएको बताए।
उनले भने, "अब देश बनाउन मिलेरै जानुपर्छ भन्ने निष्कर्ष हाम्रो हो। दुनियाँलाई देखाइ दिनुपर्छ कि कम्युनिष्टहरु झगडा गर्न मात्रै हैन मिलेर देश बनाउन जान्दछन् भनेर। त्यो हामीले साझा संकल्प गरेका छौं।"
फकाउने प्रयत्न
प्रधानमन्त्री देउवा पनि आइतवार आफ्नो चुनावी क्षेत्रमा पुगेका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने उनको नेतृत्वमा भएको सशस्त्र युद्धका बेला चितवनको बाँदरमुढेमा सर्वसाधारण चढेको बसमा गरिएको विष्फोटबाट मारिएकाहरुका आफन्त फकाउने प्रयास गरे। कतिपय पीडितहरुसँग उनले उनीहरुलाई राहत उपलब्ध गराउने, क्षतिपूर्ति दिने, घाइतेहरुको उपचार गर्ने लगायत परिपूरणका लागि समिति बनाउनेसम्मको सहमति गरेका छन्। सभामा बोल्दै उनले त्यो सहमति गठबन्धनकै तर्फबाट भएको समेत बताएका छन्। प्रचण्डले भने, "केपी ओली र मैले दुवैले यो सहमति कार्यान्वयन म गर्छु भन्नु भनेको, अबको सरकारले नै गर्छु भनेको हो भन्ने रुपमा बुझ्नुपर्छ।"
माओवादीको सशस्त्र युद्धका बेला ३८ जनाको ज्यान जाने गरी यात्रुवाहक बस विस्फोट भएको उक्त घटनाका पीडितहरुसँग आइतवार गरिएको सहमतिलाई कतिपयले युद्धकालीन घटनाको छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको काममाथिको हस्तक्षेपका रुपमा अर्थ्याएका छन्।