अदालतको अवहेलना गरेको भन्ने आरोपको सर्वोच्च अदालत समक्ष दिएको बयानमा प्रतिवाद

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 26

अदालतको अवहेलना गरेको आरोपमा डा. गोविन्द केसीसँग बयान लिएको सर्वोच्च अदालतमा बुधबारदेखि त्यस प्रकरणमा बहस हुने भएको छ।

अदालतको आदेशलगत्तै प्रहरीद्वारा सोमबार गिरफ्तार भएपछि पनि भोक हडताल जारी राखेका डा. केसीलाई बयानपछि वीर अस्पतालभित्र 'सुरक्षा नियन्त्रण'मा राखिएको छ।

तीव्र प्रतिक्रिया जन्माइदिएको डा. केसीको गिरफ्तारीको भोलिपल्ट अदालतमा उनको बयान पूरा भएको छ।

'अदालतप्रति सम्मान'

उनले अदालतको अवहेलना गरेको भन्ने आरोपको सर्वोच्च अदालत समक्ष दिएको बयानमा प्रतिवाद गरेका छन्।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले भने, "म स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारका लागेको मान्छे हुँ, अदालतप्रति सम्मान छ, अपमान गरेको होइन भन्ने बयान छ।"

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्तिबारे सर्वोच्चको एउटा आदेशपछि डाक्टर केसीले सोमबार अनशन शुरु गरेका थिए।

त्यसक्रममा उनले गरेका टिप्पणीबाट अदालतको अवहेलना भएको प्रतिवेदनको आधारमा सर्वोच्चले उनलाई पक्राउ गरी आफूसमक्ष पेश गर्न आदेश दिएको थियो।

प्रदर्शन
केसीको गिरफ्तारीविरुद्ध प्रदर्शन समेत भएको छ
प्रश्न
बयानमा डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको निजी मामिला र उनको न्यायसम्पादनबारे समेत प्रश्न उठाउँदै विभिन्न आरोप लगाएको विवरणहरु आएका छन्।

त्यसबारे सहायक प्रवक्ता कालाखेतीले भने, "प्रधानन्यायाधीशको काम-कारवाहीको छानबिन गर्ने संसद्ले हो, उहाँले के आधारमा छानबिन भन्नुभयो उहाँलाई नै थाहा होला।"

डा. केसीलाई प्रहरीले गिरफ्तार गरे लगत्तैदेखि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु आएका छन् भने उनको समर्थनमा सडक प्रदर्शन समेत भएको छ।

पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री एवं वरिष्ठ राजनीतिकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति केसीको गिरफ्तारीविरुद्ध वा उनको समर्थनमा उभिएका छन्।

एकजना पूर्वप्रधानन्यायाधीशले इतिहासमा न्यायपालिका यस्तो गम्भीर विवादमा यसअघि कहिल्यै नतानिएको टिप्पणी गरेका छन्।

'विवेक र धैर्यका साथ त्यो सुल्झाउनु पर्ने' उनको सुझाव थियो।