माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 19

निर्वाचन आयोगको निर्णय अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मङ्गलवार साँझ माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका छन्।

आउँदो मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीले वचन दिएको बताइएको छ।

निर्वाचन आयोगले नयाँ सरकार गठनको निम्ति आवश्यक हुने प्रतिनिधिसभाको पूर्ण आकार घोषणा गर्न राष्ट्रिय सभाको खाँचो पर्ने बताउँदै आएको थियो।

त्यसैले उसको कदम, गतिरोधमा परेको राजनीतिको निकासतर्फको एउटा महत्त्वपूर्ण कदम ठानिएको छ।

घोषणा
आयोगको प्रस्तावअनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने वचन प्रधानमन्त्रीले दिएको जनाउँदै एकजना निर्वाचन आयुक्त ईश्वरी पौडेलले भने, ''आयोगको परामर्शमा माघ २५ गतेलाई मिति तोक्ने प्रधानमन्त्रीले जानकारी दिएको उहाँसँगको भेटपछि प्रमुख आयुक्त जानकारी गराउनुभएको छ।''

राष्ट्रिय सभा निर्वाचनका मतदाता देशैभर छरिएको र उम्मेद्वारलाई प्रचारप्रसारका लागि पर्याप्त समय चाहिने भएकोले चुनावको निम्ति कम्तीमा एक महिना लाग्ने आयोगको भनाइ छ।

राष्ट्रपतिले हालै अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको हो।

समयको चापका कारण मनोनयन दर्ता, उजुरी, दाबी-विरोध, प्रचारप्रसारका निम्ति कानूनले अनिवार्य गरेको समयसीमा नघटाएर आयोगले आफ्नो व्यवस्थापकीय कामको समयावधि छोट्याउने जनाएको छ।

तयारी
राजनीतिक दलहरुलाई प्रदान गरिने समयका अतिरिक्त निर्वाचनको आन्तरिक तयारीका लागि पनि पर्याप्त समय चाहिने निर्वाचन आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए।

उनले भने, ''मुख्य रुपमा नियमावली-निर्देशिका तयार गर्न, मतगणनाको सफ्टवेयर निर्माण गर्न, निर्वाचन अधिकृत नियुक्ति गर्नासाथ एकल संक्रमणीय प्रणाली लगायतका विषयमा तालिम दिनुपर्ने हुनाले समय लाग्छ।''

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला सहित ८ जनाको दरले ५६ जना निर्वाचित हुने छन्।

सरकारको सिफारिसमा अन्य तीनजना राष्ट्रपतिद्वारा मनोनित हुने व्यवस्था छ।

निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख गरी २०५६ जना मतदाता हुनेछन्।