अस्थायी शिक्षकहरूको परीक्षासम्बन्धी व्यवस्थामा कडाइ गरिने

[[IMG_ALT]]

www.bsgnews.com | National News | Chaitra 18

अस्थायी शिक्षकहरूको परीक्षा प्रणालीलाई लिएर पटक-पटक देखिएको विवाद सुल्झाउन भन्दै उनीहरूको परीक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ।

अस्थायी शिक्षकहरूलाई सहज रूपमा स्थायी हुने बाटो खोल्ने गरी परीक्षाको व्यवस्था भएको भन्दै त्यसको चर्को विरोध भएपछि अर्को हप्ताका लागि पूर्वनिर्धारित परीक्षा स्थगित भइसकेको छ।

विद्यार्थी संगठनहरुले चर्को विरोध जनाएपछि अर्को हप्ता हुन लागेको अस्थायी शिक्षकको परीक्षा शिक्षक सेवा आयोगले स्थगित गर्‍यो।

अस्थायी शिक्षकहरूलाई आन्तरिक परीक्षाको नाममा खुकुलो परीक्षा प्रणाली तथा खुल्लातर्फका नयाँ उम्मेदवारहरूको लागि थोरै कोटासहितको प्रणाली अपनाउन नहुने उनीहरूको माग थियो।

समझदारी
यस्ता मागबीच शिक्षा मन्त्रालय परीक्षा प्रणालीमा फेरबदल गर्ने मनस्थितिमा पुगेको देखिन्छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, "गुणात्मक शिक्षामा सम्झौता नहुने गरी परीक्षालाई साँच्चैको परीक्षा जस्तो गरी जाने भनेर समझदारी गरेका छौँ।"

त्यसको अर्थ अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धामा ४० प्रतिशत अङ्क ल्याएपनि उत्तीर्ण हुने व्यवस्था हटाइने बताउँदै मन्त्री पोखरेलले भने, "हामी आन्तरिकको नाममा पढाउन नसक्ने, विद्यार्थीको जीवनमा खेलवाड हुने गरी छुट दिन सक्दैनौँ।"

अस्थायी शिक्षक केन्द्रित ऐन संशोधन

अस्थायी शिक्षकहरूको परीक्षा स्थगित भएको यो पाँचौँ पटक हो।

शिक्षा ऐनको आठौँ संशोधनमा पूरै खुल्ला विज्ञापनबाट शिक्षक लिने व्यवस्था गरिएपनि नवौँ संशोधनमा अस्थायीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने गरी परिमार्जन गरिएको थियो।

वाचा
यद्यपि आन्दोलनरत अस्थायी शिक्षकहरूले भने आफूहरू जुनसुकै परीक्षाबाट पछि नहट्ने बताएका छन्।

अस्थायी शिक्षकको तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीका संयोजक मधुकरकुमार खड्का भन्छन्, "हामीलाई परीक्षाको डर छैन। तर सरकारले वाचा गरे जस्तै हामीलाई ७५ प्रतिशत कोटा दिइयोस्, हामी परीक्षामा बस्न तयार छौँ।"

सरकारले ७५ प्रतिशत शिक्षक दरबन्दीको कोटा अस्थायीहरूबाट पूरा गर्ने भने पनि अझै नगरेकोमा अस्थायी शिक्षकहरूको गुनासो छ।

अर्को हप्ता हुन लागेको परीक्षाका लागि २३ हजार अस्थायी शिक्षकहरूले आवेदन दिएका थिए।