किष्ट बैंक ठगी गर्ने फरार प्रतिबादी पक्राउ :

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Bhadra 9


काठमाडौं, ८ भदौ
बैंकिङ् कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले जम्को प्रकाशन प्रालि अनामनगर काठमाडौंकी संचालक साविक भक्तपुर, दुवाकोट गाबिस–३ की ४२ वर्षीया देवकी वस्ताकोटीलाई ४ बर्ष कैद र ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरीवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही भागी फरार रहेकी वस्ताकोटीलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको छ ।
उक्त प्रकाशनका संचालक वस्ताकोटीले ब्यबसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि किष्ट बैंकबाट बैंकका तत्कालिन सिईओ कमलप्रसाद ज्ञवालीको सहयोगमा बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीहरु समेतलाई प्रभावमा पारी धितो वापत कम्पनीको स्टकमा रहेका पुस्तकको मुल्य बराबरको रकम ६ करोड ६ लाख ४६ हजार ५ सय ९० रुपैयाँ उधारोमा गएका पुस्तकको उठाउन बाँकी रकम ५ करोड ५० लाख ४८ हजार र भक्तपुरको साविक दिब्यपुरी गाबिस–१६ का बिभिन्न स्थानका कुल क्षेत्रफल १–५–१–० को जग्गाहरुको मुल्य समेत गरी कुल १७ करोड ५ लाख हुने गरी कमसल धितोको अधिक मुल्याङ्कन गराई २०६७ असार ३१ गते १२ करोड जोखिमयुक्त कर्जा लिएको र सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेकी थिइन् ।
बस्ताकोटीलाई फैसला कार्यान्वयनको लागि मोरङ्ग जिल्ला अदालतमा पेश गरेको र निजलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय मोरङ्गमा पठाइएको छ ।