लण्डन, पुस १५ गते । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घण्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो । यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो ।त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।

यसरी मङ्गलबार यहाँ मृत्यु हुनेको सङ्ख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा १ करोड २५ लाखभन्दा बढी सङ्क्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो देखिएको छ ।