दमक, माघ ११ गते । कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिएसँगै झापामा सोमबार एकैदिन २ जनाको ज्यान गएको छ । योसँगै झापामा कोरोना सङ्क्रमणको तेश्रो भेरियन्ट शुरु भएसँगै ज्यान जानेको सङ्ख्या ५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सोमबार विर्तासिटी अस्पताल बिर्तामोडमा उपचाररत रहेका दुई सङ्क्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ । सोमबार मात्र जिल्लामा २२४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ६६१ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले बताउनुभएको छ । त्यस्तै, ७१६ महिला र ८३७ पुरुष गरी कुल एक हजार ५५३ जना सक्रिय सङ्क्रमितको रहेको चौलागाईले बताउनुभएको छ ।

यसैगरी, कोरोना सङ्क्रमणदर बढेसँगै उपचारका लागि स्थानीय तहहरुले आवश्यक तयारी पनि सुरु गरेका छन् । बन्द रहेका अस्थाई कोरोना उपचार केन्द्रहरुलाई तयारी अवस्थामा राख्न सुरु गरिएको छ ।

दमक नगरपालिका र कमल गाँउपालिकाले छुट्टै कोभिड उपचार केन्द्र बनाएर सङ्क्रमितको उपचार गर्दै आएको थियो । दोश्रो महामारीमा केही कमि आएसँगै बन्द भएको उपचार केन्द्र फरि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

कमल गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालका अनुसार सातामा एक पटक एन्टिजेन परीक्षण अस्थायी कोभिड उपचार केन्द्रमा नै गरिन थालिएको छ भने कोभिड बिरामीको उपचार गर्नुपर्ने अवस्थामा त्यसको लागि पनि तयारी पूरा भएको छ ।