बुढानीलकण्ठ नगरपालिकाको ७२ औं कार्यपालिकाको बैठक भदौ ३० गते (आज) सम्पन्न भएको छ । नगरपालिका भवनको कार्यपालिका हलमा बसेको बैठकबाट केहि महत्चपुर्ण निर्णयहरु भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाले जानकारी दिनुभयो ।
बैठकबाट भदौ २३ र २४ गते भएको Gen-z आन्दोलनमा सहादत प्राप्त गर्नुभएका दिवंगत आत्माहरूप्रति नगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै अन्य उपचाररत घाइतेहरूले पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।
Gen-Z आन्दोलनका क्रममा नगरपालिका भवनको तोडफोड तथा आगजनीजन्य गतिविधि हुन नदिई नगर कार्यपालिकाको कार्यालय सहित १० वटा वडा कार्यालयहरु लगायतका सार्वजनिक सम्पत्ति जोगाउने कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण नगरवासीलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।
साथै, नगरपालिकाको वडा नं.१०, ११ र १२ गरी तीन वटा वडा कार्यालयहरु, नगर प्रमुख, वडा नं.१०, ११ र १२ को वडाध्यक्षहरुको आवासीय घरमा प्रवेश गरी तोडफोड तथा आगजनी र लुटपाटमा संलग्नलाई यथासिघ्र कानूनी कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालय समक्ष माग गर्ने निर्णय भएको छ ।
यस सँगै क्षति भएको वडा कार्यालय लगायत अन्य सार्वजनिक सम्पत्तिको क्षतिपूरण कार्यमा खर्च गर्ने गरी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको १ महिनाको सेवा सुविधाबापतको रकम र कर्मचारीहरुको पारिश्रमिकबाट जनही रु.६ हजार दिने निर्णय भएको छ ।
नगरस्तरीय तथा वडास्तरीय पूँजीगततर्फका योजनाहरूको यथासिघ्र (ठेक्का, उपभोक्ता समिति र कोटेशन) सम्झौता गरी कार्यान्वयन प्रकृया अगाडि बढाउने निर्णयमा उल्लेख गरिएको छ ।
साथै, नगरभित्र सुरक्षा व्यवस्थाको लागि नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तिको २ वटा टोलि परिचालन गर्ने र सुरक्षा चुनौति कायम रहेकोले सबै वडाहरुमा टोल सुधार समिति गठन तथा परिचालन गरी आफ्नो टोल सुरक्षामा चनाखो भई संयुक्त गस्तिलाई सहयोग गरी टोल सुरक्षा कायम राख्न अनुरोध गर्ने जनाईएको छ ।
प्रतिकृयाहरु