नाबालिकामाथि यौन दुर्व्यवहारको मुद्दामा थुनामा रहेका पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा आज पुनरावेदन दिएका छन्। भदौ २१ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद, २५ हजार रुपियाँ जरिवाना र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो। उहाँले गोरखापत्रसँग भन्नुभयो, ‘नवलपुर जिल्ला अदालतले गरेको फैसलाको उपरमा उच्च अदालतमा पुनरावेदन दिइएको छ। सुरुमा जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा सजाय गर्न गरेको फैसला कानुनसङ्गत नभएकोले सफाइ पाउनुपर्ने जिकिर हो।’

जिल्ला अदालत तनहुँमा विचाराधीन रहेको मुद्दाको पेसी आगामी २५ मङ्सिरमा तोकिएको छ। सुटिङका क्रममा पटकपटक करणी गरेको भन्दै नाबालिकाले पलविरुद्ध २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

सुरुमा बलात्कृत भएको भनी उजुरी दिएकी नाबालिकाले पछि आफूलाई पलले बलात्कार नै नगरेको भन्दै जिल्ला अदालतमा बकपत्रको बयान फेरेकी थिइन्।