कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।

यस विषयमा आफूहरूको अनुसन्धान नसकिएकाले म्याद थप गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए।

‘चार वटा शीर्षकमा जाहेरी परेका छन्। यसको मुद्दा प्रशासन र अदालत दुबै ठाउँमा छ। म्याद थप गरेर आज-भोलि पठाउँछौं,’ उनले भने। परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ। यो शीर्षकमा अनुसन्धान गर्न प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो।

यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए।

यसअघि नेवा अभियन्ताले गत आइतबार मिलापत्र गर्ने र अपूर्वलाई छुटाउन पहल गर्ने भनेका थिए। अभियन्ता पक्ष र अपूर्वका परिवार बसेर छलफल समेत गरेका थिए।

एसएसपी बोहराले उनीहरूबीच कुनै मिलापत्र नभएको बताए। बुधबार नै नेकपा एमालेका प्रमुख सचेतक तथा सासंद विशाल भट्टराईले पनि अपूर्वको रिहाइको माग गरेका छन्। उनले अपूर्वमाथि अत्याचार नगर्न भनेका हुन्।

‘अपूर्व क्षितिज सिंह जस्तो कलाकारलाई १० औं दिन देखि थुनामा राख्ने काम यो सरकारले गरिरहेको छ। र म उहाँलाई सिघ्र रिहाइको माग गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले यसअघि नै आफ्नो पोष्टबाट डिलिटमात्रै गर्नुभएको छैन। क्षमायाचना पनि गर्नुभएको छ। उहाँलाई थुनेर कुनै पनि खालको अत्याचार नगरियोस् र कलाकारमाथि कुनै खालको दमन नगरियोस्।’

-सेतोपाटी