माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ।

सुरुमा घाँटी र कान दुःखेपछि ज्वरो आएर स्थानीय सालझन्डीको एक क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई घरपरिवारले मातासँग झारफुक गराउने भन्दै सैनामैना–१०, बेम्टेनीकी २२ वर्षीया माता सोनियाकहाँ शनिबार साँझ लिएर गएका थिए। 

माता भनिने सोनियाले धामीझाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन्। त्यसपछि उनको शनिबार राति साढे ९ बजे मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बालिकाको मृत्यु शारीरिक यातनाबाटै भएको भिडियो सार्वजनिक भएकाले सोनियालाई जिल्ला अदालत रुपन्देहीबाट हिरासतमा राखी अनुसन्धान अघि बढाउन पाँच दिनको म्याद लिएको बताउनुभयो। लगातार चार/पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु माताको शारीरिक यातनाले भएको भन्ने थाहा नपाएका स्थानीय बासिन्दा सोही राति कपिलवस्तुको लक्ष्मणघाटमा सद्गतका लागि परिवारको आग्रहमा मलामी गएका थिए। 

सद्गत गरेर आएपछि घटना सामसुम भएको थियो तर आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको भिडियोबाट देखिएको छ। 

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना देखिन्छ। 

त्यसपछि इलाका प्रहरी कार्यालय सालझन्डीले आइतबार साँझ नै सोनियालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरी पछि बोलाइएमा उपस्थित हुने गरी छाडेको छ। इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनियाको शारीरिक यातनाबाटै बालिकको मृत्यु भएको देखिएको बताउनुभयो।