जथाभाबी एन्टिबायोटिकको प्रयोगले मानिसको शरीरमा एन्टिबायोटिकले काम गर्न छोड्दै गएकोमा विज्ञहरूको चिन्ता व्यक्त गरेका छन् । फर्माकोलोजिस्ट डा.प्रविन प्रसादले एन्टिबायोटिकले काम नगर्दा घातक निमोनिया देखािरेर अन्य भाइरस र ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोगको उपचारमा समस्या निम्तिने बताउनुहुन्छ । 

डा.प्रविनका अनुसार ब्याक्टेरिया, भाइरस बाट हुने सङ्क्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । यसको दुरुपयोग बढ्दै जाँदा एन्टिबायोटिकको प्रभावकारिता पनि कम हुँदै गएको छ  ।  लामो समयदेखि नयाँ एन्टिबायोटिक पत्ता लाग्न नसक्नु र जथाभाबी एन्टिबायोटिक्स लगायत औषधिको प्रयोगले गर्दा यसकाे प्रभावकारिता कम हुँदै गएको विज्ञ बताउँछन् । 

पछिल्लो समय पशुपालन र फलफूल र तरकारी खेती गर्दा उत्पादन वृद्धि गर्न एन्टिबायोटिकको प्रयोग,सामान्य स्वास्थ्य समस्या आउँदा नजिकको फार्मेसिमा गएर एन्टिबायोटिकको प्रयोग गर्दा र चिकित्सकले दिएको औषधि पुरा नखाँदा यसले काम गर्न छोड्दै गएको डा.प्रविन बताउनुहुन्छ । 

फर्माकोलोजिस्ट डा.प्रविनले पछिल्लो समय एन्टिबायोटिकको दुरुपयोग बढ्दै जाँदा यसको प्रभावकारिता कम भएको बताउनुहुन्छ । यसकाे जथाभाबी प्रयोग गर्दा बारबार रोग बल्झिएर दुख दिने भएकाले चिकित्सकको सल्लाह बमोजिम पूरा मात्रा र पूरा अवधि औषधि सेवन गर्न चिकित्सकको सुझाव छ । 

एन्टिमाइक्रोबियल रेसिस्टेन्स विकास हुँदै गएकोले उक्त औषधिले बर्सेनि करिब सात लाख मानिसको मृत्यु भइरहेको विभिन्न अध्ययनले देखाएको छ । यसको नियन्त्रणको लागि बेलैमा ठोस कदमहरू नचाल्ने हो भने यो सङ्ख्या बढेर सन् २०५० सम्ममा बर्सेनि एक करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ। 

एन्टिमाइक्रोबियल रेजिस्टेन्सको बारेमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिख सम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह मनाउने गरिन्छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्षपछि विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा मनाइने जनाएको छ ।