सुदूरपश्चिम प्रदेश भन्नेबित्तिकै प्राकृतिक र सांस्कृतिक विविधताका तस्बिर देखा पर्छ । प्राकृतिक सौन्दर्य, विविधता र त्यहाँ आश्रित वन्यजन्तुका लागिसमेत सुदूरपश्चिम प्रख्यात छ । तराई, पहाड र हिमाली क्षेत्रमा छरिएको सुदूरपश्चिममा बहुभाषा, संस्कृति, खानपान, जनजीवनसमेत विशिष्ट प्रकारकै छन् । यिनै विशेषताको व्यवस्थित संरक्षण, विकास र प्रवद्र्धनले पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ ।

पर्यटन विकासका लागि आतुर सुदूरपश्चिमले १५ वर्षअघि नै नेपाल पर्यटन बोर्डको साथ खोजेको हो । यद्यपि भर्खरै धनगढीमा बोर्डको प्रदेश कार्यालय खुलेको छ । सुदूरपश्चिमको पर्यटन विकासमा अब व्यवस्थित पहल होला कि भन्ने अपेक्षा स्थानीय पर्यटन व्यवसायीको छ । पर्यटन व्यवसायी सञ्जयकुमार चौधरी भन्नुहुन्छ, “पर्यटन बोर्डकै पर्खाइमा दुई दशक बित्यो । यो कार्यालय स्थापना भएपछि अब पर्यटन विकासको काम अगाडि बढ्ने आश पनि पलाएको छ ।”

पर्यटन विकास समाज सुदूरपश्चिमका सचिव चौधरी बोर्डको कार्यालय स्थापनापछि पर्यटकीय विकासका गतिविधि बढ्ने अपेक्षा राख्नुहुन्छ । सुदूरपश्चिममा हिमाल, पहाड र तराईका भूभाग समेटिएको छ । जसले पर्यटनको विकासलाई समेत विविधतायुक्त बनाएको छ । सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज, विभिन्न जातजातिका मूर्त तथा अमूर्त संस्कृतिको प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रमा विविधता खोज्न सकिन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : कञ्चनपुरमा पर्ने यो राष्ट्रिय निकुञ्ज प्रदेशको अस्थायी मुकाम धनगढीबाट करिब ६२ किलोमिटरको दूरीमा रहेको छ । बाह्रसिङ्गे अवलोकनका लागि प्रख्यात यो राष्ट्रिय निकुञ्ज प्रकृति र वन्यजन्तुप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्य हो । यहाँ ठूलो घाँसे मैदान र त्यसमा बाह्रसिङ्गेका ठूला झुण्ड अवलोकन गर्न पाइन्छ । जुन एसियामै ठूलो झुण्ड मानिन्छ । यसैगरी हीरापुर घाँसे मैदानमा रहेको कृष्णसार जुनसुकै बेला अवलोकन गर्न सकिन्छ । बाह्रसिङ्गेसहित दुर्लभ पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्तीलगायतका स्तनधारी वन्यजन्तु यो निकुञ्जका प्रमुख आकर्षण हुन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७०० प्रजातिका वनस्पति, ४५० प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप, २८ प्रजातिका माछा पाइन्छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको दोधारा चाँदनी झोलुङ्गे पुलसमेत यो क्षेत्रको अर्को गन्तव्य हो । राष्ट्रिय निकुञ्जको भ्रमणमा आएका पर्यटकले निकुञ्जको अवलोकनपछि केही मिनेटकै दूरीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको अवलोकन गर्न सक्छन् । 

खप्तड राष्ट्रिय निकुञ्ज : सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्लामा यो निकुञ्ज फैलिएको छ । २२५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज पदयात्राका लागि ठूलो सम्भावना बोकेको ठाउँ हो । यहाँ खप्तड बाबाको मन्दिर, घाँसे मैदान अवलोकन गर्न लायक छ । हिउँदभरि यो निकुञ्ज हिम फूलले सेताम्य बन्ने गर्छ ।

खप्तड राष्ट्रिय निकुञ्जसम्म जानका लागि अब पहिलेको जस्तो कठनाइ छैन । प्रदेशको अस्थायी राजधानी धनगढीबाट विमान चढेर डोटीसहित अन्य जिल्ला पुग्न सकिन्छ । पछिल्लो समय डोटीको झिग्रानामा झिग्राना र बझाङमा मुनाल होमस्टे सञ्चालनमा आएको छ । होमस्टे खुलेपछि दुवै रुटबाट खप्तड प्रवेश सहज बनेको छ । खप्तडलाई भू–स्वर्गका रूपमा चिनाउने गरिएको छ तर खान, बस्न उचित व्यवस्था नभएका कारण पर्यटकका लागि निकै उत्कृष्ट यो गन्तव्यले अझै पनि पर्यटक पाउन सकेको छैन । 

घोडाघोडी ताल : विश्व रामसार क्षेत्रमा सूचीकृत यो ताल चरा अवलोकन र पैदलयात्राका लागि उत्कृष्ट गन्तव्य हो । यहाँ रैथानेसहित केही आगन्तुक प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । यो तालसहितको घोडाघोडी सिमसार क्षेत्र सन् २००३ मा विश्व रामसार क्षेत्रमा सूचीकृत भएको थियो । साना ठूला २४ ताल सम्मिलित घोडाघोडी सिमसार २४८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । यो सिमसारमा जलचर चरा ६४ प्रजातिका पाइने गर्छन् । बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् । यो सिमसारलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेञ्चुरी) बनाउने तयारी गरिएको छ । कैलालीको मध्य भागमा पर्ने यो ताल धनगढीदेखि करिब ४९ किलोमिटरको दूरीमा रहेको छ ।

कर्णाली पुल : कर्णाली नदीमा एक खम्बामा ठडिएको यो पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोडेको छ । कैलाली र बर्दिया जिल्लाको सिमाना रहेको यो पुल सन् १९९४ मा बनेको हो । ५०० मिटर लामो यो पुल बनेपछि सुदूरपश्चिम काठमाडौँसँग जोडिएको थियो । सररर हावा चलिरहने यहाँ पुल तथा कर्णाली नदी अवलोकन गर्न सकिन्छ । धनगढीदेखि यो पुल करिब ८४ किलोमिटरको दूरीमा रहेको छ ।

झिलमिला, वेदकोट ताल र लिङ्गा : मौसमअनुसार रङ्ग बदल्ने तालका रूपमा परिचित झिलमिला ताल भीमदत्त नगरपालिमा रहेको छ । झिलमिला र वेदकोट ताल सुन्दर, शान्त वातावरणमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य हो । यसैगरी वेदकोट नगरपालिकामा रहेको वेदकोट ताल र यही तालनजिक पर्ने लिङ्गा धार्मिक क्षेत्र पनि पर्यटकका लागि रमणीय गन्तव्य रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा अपी, सैपाल हिमाल, बाजुराको बडिमालिका, कैलालीमा रहेको टीकापुर पार्क, डल्फिन क्षेत्र, अछामको रामारोशन, बैतडीको पाताल भूमेश्वर, विभिन्न धार्मिक स्थललगायत पर्यटकीय क्षेत्र रहेका छन् तर यो प्रदेशले अहिलेसम्म आन्तरिक तथा बाह्य पर्यटक अपेक्षाअनुरूप भित्र्याउन सकेको छैन । आन्तरिक पर्यटक बर्दियासम्म आइपुगे पनि त्यहाँबाट माथि उक्लने कमै मात्र पाइन्छ । शुक्लाफाँटा र खप्तड गरी दुईवटा राष्ट्रिय निकुञ्ज रहेको यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सम्भावना अधिक छ । केही हदसम्म आन्तरिक पर्यटकले घुमफिर गरे पनि विदेशी पर्यटकको आवागमन शून्यजस्तै रहेको छ ।

यो प्रदेशको पर्यटन विकासमा राज्यले ध्यान नदिएको पर्यटन व्यवसायी परमानन्द भण्डारीको बुझाइ छ । व्यवस्थापन, पूर्वाधार निर्माण, सुरक्षा व्यवस्थाको अभावलगायतका कारणले सुदूरपश्चिम प्रदेश पर्यटन क्षेत्रमा अझै निकै पछाडि रहेको अनुभूति उहाँमा छ । उहाँ भन्नुहुन्छ, “यी काम सरकारको हो तर स्थानीय र प्रदेश दुवै तहका सरकारले ध्यान दिएको देखिन्न ।” पर्यटकीय क्षेत्रको प्रवद्र्धन र पूर्वाधार विकासको अभावमा सुदूरपश्चिममा पर्यटक नआएको ठम्याइ उहाँको छ ।

प्रदेशको प्रयास

सुदूरपश्चिमको पर्यटन क्षेत्र एवं पर्यटकीय महìवका विषयको संरक्षण, व्यवस्थापन, विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले गत वर्ष नै सुदूरपश्चिम प्रदेश पर्यटन ऐन बनाइसकेको छ । पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने ऐनको ध्येय हो । प्रदेश सरकारले ऐन बनाइसके पनि कार्यविधि र मापदण्ड भने बनिसकेको छैन । जसले गर्दा ऐन कार्यान्वयनमा अलिकति कठिनाइ भइरहेको बताइएको छ । यद्यपि प्रदेश सरकार गठन भएदेखि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन भइरहेका छन् ।

यसैगरी पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकीय सेवा सुविधा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्य भइरहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भोजराज पाठक बताउनुहुन्छ । मन्त्रालयले यस वर्ष प्रदेश पर्यटनसम्बन्धी गुरुयोजना बनाइसकेको छ । अब गुरुयोजनाअनुसार पर्यटन विकासको कार्य अगाडि बढ्ने पाठकको अपेक्षा छ । उहाँ भन्नुहुन्छ, “पर्यटनसम्बन्धी के चिजलाई प्राथमिकता दिने भन्ने अन्योलता थियो । अब गुरुयोजना बनिसकेको छ । गुरुयोजनाले निर्दिष्ट गरेको पर्यटकीय क्षेत्रमा बजेट विनियोजन हुन्छ ।” 

-गोरखापत्र