काठमाडौं — वैदेशिक रोजगारीमा आकर्षक आम्दानी हुने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा काठमाडौंको शंखमूलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्दै आएका २६ वर्षीय रिगबान शेष रहेका छन्। प्रहरीले उनका विरुद्ध बेलायत (यूके) पठाइदिने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको जनाएको छ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थायी घर भई शंखमूलमै बस्दै आएका ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन्। भट्टले एक व्यक्तिलाई क्रोएसिया पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीका अनुसार दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब तथा सहजै विदेश पठाइदिने आश्वासनमा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न र कानुनी प्रक्रियाबारे जानकारी लिन आग्रह गरेको छ।