प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ । सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङगर्दा पनि सरकारले सो विषयबारे संसद्लाई अझै जानकारी नगराएकोमा उहाँको आपत्ति थियो ।

सांसद गैरेले भन्नुभयो, ‘‘प्रतिनिधि सभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर बिक्री वितरण गर्ने मानव तस्करीको कामविरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । र २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसद्को तर्फबाट जानकारी गराउनका लागि रुलिङ पनि भएको थियो । तर आजको कार्यसूचीमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूची मैले देखिन । म माननीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु ।’’

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्नुहुँदै सांसद गैरेले संसद्को कामकारबाहीलाई रोकेर भए पनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गर्नु भयो । उहाँले अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसद्लाई जानकारी नगराएको भनी सरकारलाई पटक–पटक प्रश्न समेत गर्नुभयो ।

सांसद गैरेले भन्नुभयो, ‘‘आज देशव्यापी रूपमा यो भ्रष्टाचारविरुद्ध सिङ्गो देश आन्दोलित छ । अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद् चलिराखेको छ । र सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आलटाल गरिरहेको छ । जनतालाई यसको निष्पक्ष छानबिन हुन्छ भन्ने विश्वास छैन ।’’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘‘ध्यानाकर्षण गराउन चाहन्छु । यो जघन्य अपराधको निष्पक्ष छानबिन होस् । दोषीलाई कारबाही होस् । र अन्य जनप्रतिनिधिको नाममा, पार्टीको नेताको नाममा वा अरू कुनै पनि व्यक्तिको नाममा गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई निरुत्साहित गर्न, दण्डनीय बनाउन यो संसद् दृढतापूर्वक उपस्थिति हुनु पर्दछ । सरकारले तदनुरूपको काम गर्नु पर्दछ भन्ने कुराको म ध्यानाकर्षण गराउन चाहन्छु । सभामुखज्यूलाई त्यो अनुसारको रुलिङ गर्न माग गर्दछु ।’’