त्रिशुली नदीमा वर्षौंदेखि निर्माण कार्य रोकिएको गल्छी गाउँपालिकास्थित स्यालटार र जिन्टेबगर जोड्ने पक्कि मोटरेवल पुल निर्माणको कामले यस वर्ष बल्ल पुर्णता पाएको छ ।

यससँगै अब पृथ्वी राजमार्गको घाटवेसीदेखि गल्छीसम्म बैकल्पिक सडकको रुपमा त्रिशुली पारिका सडक समेत प्रयोग गर्न सकिने छ । जस्ले गर्दा पृथ्वी राजमार्ग स्तरोन्नतीका क्रममा हुने सवारी जाममा यात्रुहरु बस्नु पर्ने झन्झट समेत हट्ने भएको छ ।

राजमार्ग स्तरोन्नतीका क्रममा सडक बन्द गर्नु परेमा पनि सो बैकल्पिक मार्गको प्रयोग गर्न सकिने छ । गल्छी गाउँपालिकास्थित स्यालटारलाई जिन्टेबगर जोड्न सो पुल सडक विभागले नौ वर्षअधि पप्पु कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको थियो ।

सो निर्माण कम्पनीले पुल अलपत्र पारेपछि सडक विभागले पुल निर्माणको जिम्मा रसुवा कन्ट्रक्सनलाई दिएको थियो । सो निर्माण कम्पनीले यसै वर्ष सम्पन्न गरेको हो ।

वर्षौदेखी पुल बन्ने आसामा रहेको त्रिशुलीपारिका स्थानीयहरु पुल निर्माण कार्यले पुर्णता पाएसँगै निकै खुशी समेत भएका छन् । १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न सो पुल एक सय एकाउन्न मिटर लम्वाईको रहेको छ भने दश मिटर चौडा रहेको छ ।

मोटरएवल पुल नभएकै कारण त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुहरु बजारसम्म बिक्रीका लागी ल्याउन सवारी साधनको प्रयोगको सट्टामा मानिसले बोकेरै ल्याउनुपर्ने बाध्यता रहेको थियो ।