कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले लुटपाट गरेका थिए ।  

घटनाको जानकारी पाएसँगै अनुसन्धानमा खटिएको कैलाली प्रहरीले लुटिएको गाडी र लुटेरालाई दिउँसो पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले लुटिएको गाडी गोदावरी नगरपालिका १ पाठक आयल स्टोर देखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको जानकारी दिनुभयो  । 

घटनामा संलग्न हरियाणा सोनीपथ भारतका २१ बर्षीय भगत सिंह, सोही ठेगाना भएका १७ बर्षीय साहिल बादलिसे र २० बर्षीय सन्नी औट गाडी भेटिएनजिक गोदावारी १ जंगलभित्रबाट पक्राउ परेको बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।

सोमबार विहान बेदकोट नगरपालिका ३ कञ्चनपुरका भण्डारीले आफूले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारमा खानीडाँडासम्मका लागि तीन जना भारतीयलाई लिफ्ट दिनुभएको थियो । 

लुटेराले गोदावरी ४ मा आइपुगेपछि उहाँलाई नै आक्रमण गरेका थिए । फोटो खिच्ने निहुँमा कार रोक्न लगाई ५० मिटर पर लगि निर्घात कुटपिटपछि बाँधेर सडक छेउ जंगलमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीसँग भएको मोवाईल, पर्स, निजी सवारी पनि लगेका छन् ।

हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको छ ।