काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हतियार देखाएर लुटपाट तथा यात्रु र सर्वसाधारणलाई लक्षित गरी श्रृंखलाबद्ध चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले **‘आयान माझी समूह’**लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त समूहले पछिल्लो आठ महिनादेखि उपत्यकाका विभिन्न क्षेत्रमा चोरी तथा लुटपाटका घटना गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका–५ का आयान माझीलाई समूहको मुख्य योजनाकारका रूपमा पहिचान गरेको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंमा बस्दै आएका माझीले लुटपाटका लागि मोटरसाइकल, नक्कली नम्बर प्लेट, हतियारलगायतका सामग्री व्यवस्थापन गरी समूहका अन्य सदस्यलाई परिचालन गर्ने गरेको खुलेको छ।
समूहले बिहानको समयमा सर्वसाधारणलाई सामान तथा गरगहना देखाउने बहाना बनाई मोटरसाइकलमा पछ्याउने र सुनसान वा उपयुक्त स्थानमा पुगेपछि लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ। त्यस्तै, राति तथा बिहान एक्लै हिँड्ने महिला तथा पुरुषलाई सुनसान स्थानमा रोकेर हतियार देखाई लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यसैगरी, इन्ड्राइभ तथा पठाओको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गरी लुटपाट गर्ने गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरी गरिएका मोटरसाइकल लुटपाटका घटनामा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले लुटपाटमा प्रयोग भएको भनिएका दुई थान मोटरसाइकल, एक थान खुकुरी, नक्कली नम्बर प्लेट तथा घटनाका समयमा प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ।
प्रहरीले आयान माझीसँगै समूहमा संलग्न रहेको आरोपमा मनोजकुमार मोक्तान र राकेश सिंहलाई समेत पक्राउ गरेको जनाएको छ। उनीहरूले मोटरसाइकलको पछाडि बसेर तथा घटनामा प्रत्यक्ष रूपमा संलग्न भएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार माझी यसअघि पनि डाँका चोरीसम्बन्धी मुद्दामा कारागार बसेका व्यक्ति हुन्। कारागारबाट छुटेपछि पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरी तथा लुटपाटका घटनाको अनुसन्धान गर्ने क्रममा उक्त समूह सक्रिय रहेको तथ्य फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृयाहरु