काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तलाई पक्राउ गरेको छ। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पन्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार केही वित्तीय कारोबार, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय स्वीकृतिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।
सिआइबीका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोगको आरोपमा अनुसन्धानका क्रममा रहेका एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मासँग सम्बन्धित प्रकरणमा पन्तको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।
४८ करोड कर्जा दुरुपयोगको आरोप
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका आधारमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।
प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह भएको र कर्जाको रकम तोकिएको प्रयोजनमा प्रयोग नगरी कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा समूहअन्तर्गतका अन्य ऋणी कम्पनीको बक्यौता भुक्तानीमा प्रयोग गरिएको आरोप छ।
नेपाल राष्ट्र बैंकले उक्त कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार कर्जा दुरुपयोगसम्बन्धी कसुर हुन सक्ने निष्कर्षसहित अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो।
सोही आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर सिआइबीले असार ३० गते शशिधर शर्मालाई पक्राउ गरेको थियो।
प्रभु बैंकको उच्च व्यवस्थापनमाथि पनि अनुसन्धान
कर्जा दुरुपयोगसम्बन्धी प्रकरणमा प्रभु बैंकका सञ्चालकदेखि उच्च व्यवस्थापनसम्मको भूमिकाबारे समेत सिआइबीले अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि सिआइबीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रभु समूहका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललगायत उच्च पदस्थ अधिकारीमाथि समेत अनुसन्धान अघि बढाइएको थियो।
यसैबीच, प्रभु म्यानेजमेन्ट कम्पनीसँग सम्बन्धित आर्थिक अनियमितताको विषयमा पनि सिआइबीको अनुसन्धान जारी रहेको छ। प्रारम्भिक अनुसन्धानमा प्रभु म्यानेजमेन्टमार्फत ठूलो रकम हिनामिना भएको आशंका गरिएको सिआइबीको भनाइ छ।
अनुसन्धानका क्रममा कम्पनीका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको संलग्नतामा करिब तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरका ‘सुपर एजेन्ट’ बनाएर धरौटीबापत संकलित रकममध्ये ठूलो हिस्सा हिनामिना भएको आरोपसमेत छ।
सिआइबीले यी प्रकरणमा संलग्नता, वित्तीय कारोबार र निर्णय प्रक्रियाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथिको आरोप अनुसन्धान र अदालतको अन्तिम निर्णयबाट पुष्टि हुन बाँकी छ।

प्रतिकृयाहरु