काठमाडौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीना पत्र बुझाउनु भएको पार्टी कार्यालयले जनाएको छ ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले सम्मानजनक विजय हासिल गर्न नसकेपछि सभापति थापामाथि पद छोड्न नैतिक दवाव परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले करीब दुई तिहाइ सिटमा जित हासिल गरेको यो निर्वाचनमा कांग्रेस प्रत्यक्ष तर्फ १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल बनेको छ ।
जनलहर अर्कै दल तर्फ आकर्षित भएको अवस्थामा निर्वाचन परिणामलाई मात्र हेरेर सभापतिले राजीनामा दिनुपर्ने एकाथरीले बताए पनि निर्वाचनमा आफैं पनि पराजित भएपछि सभापति थापा पद छोड्ने निर्णयमा पुग्नुभएको हो । थापा गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
यसैबीच, कांग्रेसले भोलिका लागि डाकेको दलको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे छलफल हुने जनाएको छ ।

प्रतिकृयाहरु