काठमाडौँ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यसै क्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रको भौगोलिक शिर मानिने बुढानीलकण्ठ नगरपालिका वडा नं. १, तौलुङ पुगेर मतदाताहरूसँग गरेको अन्तर्क्रियालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। प्राकृतिक र भौगोलिक रूपमा बागद्वारको काखमा रहेको तौलुङ एक प्रमुख जनजाति बाहुल्य बस्ती हो। अध्यक्ष घिसिङले सो क्षेत्रमा पुगेर स्थानीय बासिन्दाहरूसँग राजनीतिक तथा सामाजिक मुद्दाहरूमा प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए। "विजुलीको चिम" चुनाव चिह्न लिएर पहिलो पटक चुनावी मैदानमा उत्रिएको यो पार्टीले काठमाडौँ–४ मा जेबी अधिकारी (दीपक) लाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।
अन्तर्क्रियाका क्रममा अध्यक्ष घिसिङले केवल लोडसेडिङ अन्त्य मात्र नभई अबको राजनीतिले आर्थिक समृद्धि र सुशासनको 'उज्यालो' छर्नुपर्नेमा जोड दिए। उनले भने, "तौलुङ जस्तो प्राकृतिक रूपमा धनी क्षेत्रको विकास र यहाँका बासिन्दाको हक–हितका लागि उज्यालो नेपाल पार्टीले स्पष्ट योजना अघि सारेको छ।"
उम्मेदवार जेबी अधिकारीले यस क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र युवा रोजगारीका लागि आफू प्रतिबद्ध रहेको बताउँदै स्थानीयको सुझाव संकलन गरेका थिए। काठमाडौँ–४ मा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरूको बलियो पकड रहँदै आएको छ। यस्तो अवस्थामा कुलमान घिसिङ जस्तो चर्चित अनुहारले जनजाति बाहुल्य र भौगोलिक रूपमा महत्वपूर्ण मानिने तौलुङमा गरेको कार्यक्रमले चुनावी समीकरणमा नयाँ तरङ्ग ल्याउन सक्ने अनुमान गरिएको छ। 'विजुलीको चिम' चिह्नले यसपटकको निर्वाचनमा कस्तो प्रकाश छर्ने हो, त्यो भने मतदाताको हातमा छ।

प्रतिकृयाहरु