काठमाडौं, माघ ६ गते । त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।  बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमक्रोन भेरियन्टको तीव्र सङक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ,’ त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।