भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताल फिर्ता लिन आग्रह गर्नुभयो । मङ्गलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरुले यातायातमन्त्री श्रेष्ठसँग छलफल गरेको थियो । छलफलमा मन्त्री श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताल फिर्ता लिन आग्रह गर्नुभएको हो । 

यसैगरी, यातायात व्यवसायी र मजदुरहरुले काठमाडौं उपत्यकामा आज सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । यातायातमन्त्री श्रेष्ठसँग छलफल गरेपछि तत्कालका लागि यातायातमा सार्वजनिक यातायात ठप्प बनाउने कार्यक्रम स्थगन गरेको हो । 

उहाँले यातायात क्षेत्रको समग्र सुधारका लागि यातायात व्यवस्था सुधार कार्यक्रम बनाइसकिएको र तत्कालको समस्या समाधान गर्न र सात दिनभित्र नै निर्णय गर्न अर्को कार्यदल बनाइसकिएको उल्लेख गर्नुहुँदै हड्ताल फिर्ता लिएर यातायात सुचारु गर्न यातायात व्यवसायीहरुसँग आग्रह गर्नुभएको थियो ।

उहाँले यातायात मजदुरहरुलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न पनि निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठले लुटपाटमा संलग्न प्रत्यक्ष प्रमाणित भएको खण्डमा तत्काल पक्राउ गरी कारबाही गर्न पनि निर्देशन दिनुभएको थियो । उहाँले ल्होत्से हलमा सोमबार भएको मोबाइल पसलबाट मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्ने बताउनुभयो । उहाँले यातायात व्यवसायीहरुले उठाएका जायज मागहरु सम्बोधन हुने र यातायात व्यवसायीहरुमाथि अन्याय हुन नदिने बताउनुभयो । 

‘‘सार्वजनिक यातायातलाई लिएर हिजोदेखि आजसम्म आइपुग्दा मेरो भनाइ के छ भने हड्तालमा तपाईंहरु नगइदिनुहोस् । अहिले हड्ताल गर्ने बेला होइन । समग्र यातायात क्षेत्रको सुधार गर्न यातायात व्यवस्था सुधार कार्यक्रम बनाइसकियो, तत्कालको समस्या समाधान गर्न र सात दिनभित्र नै निर्णय गर्न अर्को कार्यदल बनाइसकियो, नेतृत्व तपाईंहरुसँग अन्तरक्रियामा छ । हड्तालमा जान हुँदैन । सहमतिको आधारमा हड्ताल फिर्ता लिनुहोला ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘कुटपिटमा संलग्न जो छ, पक्राउ नपरेकाहरुलाई पक्राउ गर्नुहोस्, मजदुरहरुलाई कुटपिट गरेकालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाउनुस् । लुटपाटमा संलग्न प्रत्यक्ष प्रमाणित छ भने उनीहरुलाई पनि कारबाही गर्नुपर्छ । काठमाडौं महानगरपालिका, ल्होत्से र मन्त्रालय बसेर त्यहाँको स्थितिको आवश्यकता अनुसार यातायात व्यवसायी र मजदुरलाई बोलाएर ल्होत्सेमा सम्बन्धित विषयमा पनि छानबिन गर्नेछौँ । जायज सरोकार सम्बोधन हुन्छ, तपाईंहरुमाथि अन्याय हुन दिइँदैन ।’’

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घका अध्यक्ष भीमज्वाला राईले तत्कालका लागि उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम स्थगन गरिएको बताउनुभयो । उहाँले सरकारले मजदुरलाई सोमबारको कार्यक्रममा आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने, ल्होत्से हलको दादागिरीको बारेमा छानबिन गर्ने, यातायात मजदुरलाई पूर्ववत् अवस्थामा काम गर्नसक्ने वातावरण बनाउने बारेमा सहमति गरेकाले तत्कालका आगि आन्दोलन फिर्ता लिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मजदुरहरु सरकारसँग भएको सहमति सुनाउनका लागि जाँदा आक्रमण भयो, ल्होत्सेको दादागिरीका बारेमा छानबिन गर्नका लागि मन्त्रालयले महानगरपालिकासँग सहकार्य गरी सबैसँग छलफल गरी छानबिन गर्ने वचन भएकोमा धन्यवाद दिन चाहन्छौँ । कारबाही लिखित प्रतिबद्धता होस्, मजदुर कार्यक्रममा जाँदा जुन आक्रमण भयो, त्यसको बारेमा वचन उल्लेख होस्, ल्होत्सेको सम्बन्धमा छानबिन गर्ने लिखित प्रतिबद्धता होस् र त्यो प्रतिबद्धता नभइसकेको अवस्थामा पूर्ववत् अवस्थामा जसरी साथीहरुले काम गर्नुभएको थियो, पूर्ववत् अवस्थामा काम गर्ने गरी लिपिबद्ध होस् ।’’

उहाँले फागुन ८ गतेसम्म पनि सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरे आन्दोलन बढाउँदै जाने बताउनुभयो । फागुन ८ गतेसम्म आफ्ना मागहरुको सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष राईले बताउनुभयो । 

‘‘नेपालको यातायात क्षेत्र मजदुर, यात्रुमैत्री बनाउने सन्दर्भमा नयाँ अध्यया सुरु भएको छ, अब नेपालको यातायात क्षेत्र सुधार हुन्छ । भौतिक पूर्वाधारलाई याद नै नगरी राज्यले डण्डा वर्षाउने कार्य राज्यबाट हुँदैन भन्ने प्रतिबद्धता प्राप्त गरेका छौँ ।,’’ अध्यक्ष राईले भन्नुभयो, ‘‘आज बन्द गर्ने जुन भनेका थियौँ, त्यसलाई स्थगन गर्नेछौँ, भोलि ३ गतेदेखि देशव्यापी कार्यक्रम, कोणसभा, प्रदेश सरकारलाई ध्यानाकर्षण, १० गते ¥याली गर्छौं, ८ गतेसम्म समितिले हामीलाई चित्तबुझ्दो माग सम्बोधन भएन भने निरन्तर रहनेछ ।’’