सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्र प्रमुखमाथि बुधबार बिहान लुटेरा समूहले गोली प्रहार गरेको छ । 

सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बुधबार बिहान १०ः३० बजेतिर कार्यालय खोल्नासाथ भारतीय नम्बरको मोटरसाइकल चढेर आएका तीन जना अज्ञात व्यक्तिले पैसा दिन धम्काएपछि कार्कीले प्रतिकार गर्नुभएको थियो । मास्क लगाएर आएका लुटेराले प्रतिकार गर्नासाथ कार्कीमाथि गोली प्रहार गरी उहाँको साथमा रहेको झोला लुटेर लगेका छन् । तर झोलामा पैसा भने थिएन । संस्थाको हरिवन नगरपालिका–११ स्थित बजारमा रहेको सहकारीबाट पैसा लिएर गएपछि सेवा केन्द्र प्रमुख कार्कीले झोलाबाट पैसा निकालेर लकरमा राखिसक्नुभएको थियो । 

कार्कीमाथि गोली प्रहार गरी झोला खोसेपछि तीनै जना लुटेर मोटरसाइकल चढेर दक्षिणतर्फ भागेका प्रत्यक्षदर्शीले बताएका छन् । घाइते कार्कीलाई हरिवनमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लगिएको सगुन सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयो । 

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले संस्थामा राखिएको सिसिटिभीबाट घटनाको फुटेज लिएर अनुसन्धान अघि बढाइएको बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक यादवले घटनामा संलग्नको खोजी भइरहेको बताउनुभएको छ । पूर्व–पश्चिम राजमार्गमै रहेको सहकारी संस्थाको सेवा केन्द्रबाट यसरी गोली प्रहार गरी लुटपाट भएपछि सर्लाहीमा आतङ्क सिर्जना भएको छ ।