श्रीमतीलाई आगो लगाएर मार्ने अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि पक्राउ गरेको हो । प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने जयराम चमारको छोरा मुलायाम भन्ने सिकन्दर चमारलाई मङ्गलवार राती १०ः३० बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले चमारलाई पक्राउ गरेको छ । चमारलाई नेपाल–भारत सीमास्थित यशोधरा गाउँपालिका ६ रङ्गपुर देखि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

चमारले २०७१ फाल्गुन ३० गते ससुराली कृष्णनगर नगरपालिका ६ श्रीनगरमा श्रीमतीको हत्या गरी जलाएर फरार थिए । मृतक किश्लावती चमारको माइतीघरदेखी ३ सय मिटर टाढा अड्हर खेतमा जलेको अवस्थामा शव फेला परेको थियो । घटना भएको २ दिन पछि किश्लावतीको शव स्थानीयको सहयोगमा प्रहरीले फेला परेको थियो ।