बूढानीलकण्ठ मन्दिर लगायत देशभरका अन्य विभिन्न नारायण मन्दिरहरुमा आज हरिबोधिनी एकादशी शुरु भएको  छ।

कार्तिक शुक्ल एकादशीका दिनदेखि बूढानीलकण्ठ नगरपालिकामा रहेको बूढानीलकण्ठ मन्दिरमा विशेष मेला लाग्ने गर्दछ। यस मेला एकादशीका दिनदेखि पाँच दिन, पूर्णिमासम्म लाग्ने गर्दछ। 

हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ जसलाई ठूली एकादशी पनि भन्ने गरिन्छ।जनविश्वास तथा धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा रहनुभएको भगवान विष्णु आजको दिन आफ्न निन्द्राबाट उठ्नुहुन्छ भन्ने विश्वास रहिआएको छ। यसै कारण पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पात मानिसको जन्मदेखि मृत्यु हुँदासम्म प्रयोग हुँदै आएको छ। वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले हिन्दु धर्मालम्बीहरुले आ-आफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । हजारौँ वर्षदेखि सनातन संस्कारीहरु प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।