काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो । त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो ।

अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै बेहोरा उल्लेख नभएको हुँदा त्रिवि सेवा आयोगबाट मिति २०७७/११/०९ मा जारी सूचनाबमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।”

-गोरखापत्र