दायित्व नेपालको मिडिया, साझेदारी संस्था र युवाहरू बीच नीति प्रक्रियामा नागरिक (युवा) संलग्नता सम्बन्धि कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको छ। आज मिति २०७८ मङ्सिर ३ गते भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रमको करिव डेढ घण्टाको समयावधीमा दायित्वका निर्देशक शुसित ढकालले संस्थाका बारेमा तथा उक्त संस्थाले समेट्दै आएका विषयवस्तु र साथैविभिन्न युवा तथा क्षेत्रहरुमा गर्दै आएका कार्यहरुका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो। यस कार्यक्रमको दोस्रो (अन्तिम) सत्र सोमबार मङ्गसिर ६ गते अनलाईन माध्यम मार्फत संचालन हुनेछ। 

करिव तीन महिनाका लागि दायित्व संस्थाबाट विभिन्न प्रदेशका पालिकाहरुको साझेदारीमा विभिन्न क्षेत्रहरुबाट प्रतिनिधित्व गर्दै जनप्रशासन फेलोशोप कार्यक्रम अन्तरगत रहि पालिकाहरुमा युवाहरुको सहभागिता तथा युवा र स्थानिय तह तथा जनप्रतिनिधिहरुबीचको दूरीलाई मेटाउनका लागि सो कार्यक्रमको शुरुवात भएको हो।

नागरिक समाज: पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत शुरु गरिएको यस ‘जनप्रशासन फेलोशिप कार्यक्रम २०२१’ का संयोजक कृपा श्रेष्ठले यस परियोजनाका विषयमा र साथै युवाहरुको विभिन्न क्षेत्र, तह तथा स्थानहरुमा सहभागिता तथा योगदानहरुका विषयमा चर्चा गर्नुभएको थियो। साथै यसै फेलोशिप अन्तर्गतका फेलोहरुद्वारा गरिएका कार्य तथा उपलब्धिहरुका विषयमा समेत आफ्नो प्रस्तुतिकरण पेश गर्नुभएको थियो।  

कार्यक्रममा आफ्नो र अन्य सहकर्मी फेलोहरुको प्रतिनिधित्व गर्दै दुईजना फेलो सर्मिला खनाल (बूढानीलकण्ठ नगरपालिका) र दिक्षा दुलाल (तामाकोशी गाउँपालिका) द्वारा तीन महिनाको अन्तरालमा गरेका अनुसन्धानका विषयहरु बारे प्रस्तुति दिनुभयो। अनुसन्धानबाट प्राप्त भइरहेका विभिन्न सेवा प्रवाह/प्रणालीबाट लाभान्वित भएका व्यक्तिहरु नागरिकहरुसँग गरिएको अनुसन्धानबाट प्राप्त भएका जानकारी तथा समस्याहरुको समाधानका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आ-आफ्नो स्थानिय तहलाई सहयोग गर्दै जाने बताउनुभयो। सो फेलोशिप कार्यक्रमको दौरानमा विभिन्न प्रशिक्षकहरुद्वारा प्रदान गरिएका प्रशिक्षणहरु जिवनोपयोगी रहेको बताउँदै ती सिकाईलाई भविष्यमा समेत लागू गर्दै व्यक्तित्व विकास सँगै समाज तथा राष्ट्र विकासका लागि सक्दो योगदान प्रदान गर्ने बताउनुभयो।

त्यसैगरी आफ्नो यस फेलोशिप कार्यक्रमबाट सिकेका कुराहरु र आफूले गरेका अनुसन्धानहरुलाई कसरी अघि बढाउने भन्ने प्रश्न बूढानीलकण्ठ संचार गृह (बिएसजी न्युज)का सुमित खरेलले गर्नुभएको थियो जसको उत्तरमा तामाकोशी गाउँपालिकाको फेलो दिक्षा दुलालले आफ्नो स्थानिय तहहरुको सहकार्यमा युवाहरुको सहभागिता सहित विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै जाने र युवाहरुको समस्याहरुको पहिचान गरि यसै क्षेत्रमा कार्यरत रहने बताउनुभयो। 

त्यो सँगै संचार गृहका खरेलले यस किसिमका युवा सहभागिताले प्रोत्साहन प्रदान गर्ने र यसलाई निरन्तरता दिनका लागि सुझाव समेत प्रस्तुत गर्नुभएको थियो। संचार गृहको युवा क्षेत्रको नीति प्रक्रिया तथा स्थानिय तहहरु बीचको समन्वयमा मिडियाको भुमिकाको विषयमा बोल्दै बूढानीलकण्ठ न्युजका निमेश थापाले स्थानिय समाचारहरुको सहि ढंगमा विश्लेषण तथा सम्प्रेषणले साना देखि ठुला समस्याहरुको पहिचान र स्थानिय तथा अन्य निकायहरुको ध्यानाकर्षण गराउन मद्दत गर्ने गरेको बताउनुभयो। साथै सहि समाचारहरुको सम्प्रेषणले गर्दा पर्दा पछाडी रहेका जसले आफ्नो क्षेत्रको विकासका लागि योगदान दिँदै आएका युवा तथा अन्य व्यक्तिहरुलाई समबन्धित निकायहरु सबैको ध्यानाकर्षणमा लेराउन सफल रहेको महशुस गरेको जसले ती व्यक्तिहरुलाई प्रोत्साहन मिलेको समेत थापाले बताउनुभयो।