काठमाडौं, जेठ १० गते। काठमाडौं महानगरपालिकाको भृकुटीकण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा सबै प्रतिनिधिबाट सहयोग भएको र सो कार्य यसैगरी अघि बढेको खण्डमा सो दिनको २ बजेसम्ममा सम्पन्न हुने बताउनुभयो। महानगरमा खसेको एक लाख ९१ हजार १८६ मतमध्ये अहिलेसम्म एक लाख ५५ हजारको हाराहारीमा मतगणना भएको उहाँले बताउनुभयो। 

मंगलबार साँझसम्म एक लाख ५३ अजार ८०४ को मतगणना गर्दा प्रमुख पदमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५१ हजार ५३० पुगेको छ। यसैगरी, नेपाली कांग्रेसका सिर्जना सिंहले ३१ हजार ६४८ र नेकपा (एमाले) का केशव स्थापितको मत ३१ हजार ५७ रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले चार हजार ७२२ मत र स्वतन्त्र उम्मेदवार सुमन सायमीले नौ हजार ५३७ मत ल्याउनुभयो।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले ५६ हजार २६८ मत ल्याउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १९ हजार १९३ मत ल्याउनुभयो। राप्रपाकी बिनिता मगैयाको नौ हजार ९७३ मत रहेको छ।