काठमाडौँ, फागुन २९ गते । बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले जितेको छ ।आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापामगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जित्नुभएको थियो ।

नेपाल उमा कुङफु सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगिताअन्तर्गत प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अन्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिनुभयो । फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जित्नुभयो । अन्जलीले दोहोरो स्वर्ण जित्नुभएको हो ।

उत्कृष्ट चारैलाई नेपाल उमा कुङफु सङ्घले खाना÷बस्न सुविधासहित चीनमा निःशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले बताउनुभयो । विजेतालाई पूर्वमन्त्री पार्वत गुरुङ, प्रतियोगिता संयोजक उद्धव थापा मगरलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा एक सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।